देउवाको ठाडो निर्देशनमा: सुरक्षा संयन्त्रका केन्द्रदेखि जिल्ला तहसम्म सुरक्षा अधिकारीहरुको धमाधम सरुवा ।

काठमाडौँ, ६ मंसिर ।
सरकारले सुरक्षासम्वद्ध अधिकारीहरुको धमाधम सरुवा गरिरहेको छ । निर्वाचन आचारसंहिता लागिरहेका बेला सुरक्षा संयन्त्रका केन्द्रदेखि जिल्ला तहसम्म निर्णायक तहका अधिकारीहरुको धमाधम सरुवा गरिएको हो ।पहिलो चरणको निर्वाचन हुनु चार दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको भोलिपल्ट दुईजना एआइजीको पनि सरुवा गरिएको हो । गृहमन्त्रालयका अनुसार सात नम्बर प्रदेशका प्रमुख एआइजी विजय भट्टलाई सचिवालयमा तानेर बुधबारै डिआइजीबाट एआइजी बनेका माधव नेपाललाई सात नम्बर प्रदेशमा पठाइएको छ ।

सात नम्बर प्रदेश अन्तरगत डडेलधुरा गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । देउवा डडेलधुराबाट प्रतिनिधि सभाका लागि चुनावी मैदानमा छन् ।

देउवा पत्नी आरजु राणा देउवा पनि सात नम्बर प्रदेश अन्तरगतकै कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा छिन् । मिङ्मार लामालाई ५ नम्बर प्रदेशबाट सुरक्षा परिषद्मा लगिएको छ । त्यसैगरी मिङ्मारको स्थानमा हेडक्वार्टरबाट मधु पुडासैनीलाई ५ नम्बर प्रदेशमा सरुवा गरिएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजीहरु मधु पुडासैनी, माधव नेपाल, पंकज श्रेष्ठ र हेमन्त पाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले बागलुङ र नुवाकोट प्रहरी प्रमुखको पनि सरुवा गरेको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो ।

सुरक्षा अधिकारीको धमाधम सरुवा

गृहमन्त्रालयका अनुसार प्रधानमन्त्री ठाडो देउवाको आदेशमा पहिलो चरणमा चुनाव हुने जिल्लाका प्रजिअ मंगलबार सरुवा भएका थिए । गृहमन्त्रालयको कार्यभारसमेत सम्हालेका देउवाले प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेका थिए ।

पहिलो चरणको चुनाव हुनु चार दिनअघि भोजपुर, सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा भएका थिए । सोलुखुम्बुका सीडीओ भूपेन्द्र थापालाई सरुवा गरी उनको ठाउँमा सुनिल खनाललाई पठाइएको छ ।

त्यसैगरी भोजपुरका चेतराज बरालको ठाउँमा फणीन्द्र दाहाललाई पठाइएको छ । रसुवाकी प्रमुख जिल्ला अधिकारी हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपानेलाई पठाइएको छ । नुवाकोटमा जगदीशराज बरालको ठाउँमा वीरेन्द्रकुमार यादवलाई पठाइएको छ ।

 

प्रतिक्रया दिनुहोस्