महिला टि–ट्वान्टी क्रीकेट: नेपाल युएईसँग ५ रनले पराजित ।

काठमाडौं, ७ मंसिर ।
आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल युएईसँग ५ रनको झिनो अन्तरले पराजित भएको छ ।८० रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले जित हात पार्न सकेन । नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ७४ रन मात्रै बनाउन सक्यो । नेपालका खेलाडी सस्तैमा आउट भए । कुनै पनि खेलाडी टिकेर खेल्न नसक्दा नेपालले आफ्नो महत्वपूर्ण अंक युएईलाई सुम्पिन पुग्यो । नेपालका लागि रितु कनौजियाले नटआउट २२ रन बनाइन् । त्यस्तै, नेपालका लागि ज्योति पाण्डेले १२ र काजल श्रेष्ठले ८ रन बनाइन् । नेपाली खेलाडीलाई सस्तैमा आउट गराउनका लागि युएईका निशा अलि र हमरिया तस्निमले समान २–२ विकेट लिए ।

यसअघि बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७९ बनाएको थियो । युएईको १० रन हुदा ४ विकेट झरेको थियो । पहिलो ओभरमा नै कप्तान रुविना क्षेत्रीले युएईको १ रन हुँदा विकेट झारेकी थिइन् ।

रुविनाले शुभा भेन्कतरामनलाई शुन्य रनमा आउट गरेकी थिइन् ।  युएईको ८ रन हुदा कप्तान रुविनाले नै अर्को विकेट लिएकी थिइन । त्यसपछि बलिङमा आएकी रितु कनौंजियाले आफ्नो दोस्रो ओभरमा २ विकेट झार्दै युएईलाई दबाब दिएकी थिइन् ।

युएईका लागि नतासा चरियथले २३, इशा रोहितले २२ र निशा अलिले १७ रन बनाएका थिए । नेपालका लागि कप्तान रुविना क्षेत्रीले ३, रितु कर्नौजियाले २ र नेरी थापाले १ विकेट लिइन् ।

हारपछि नेपालको शीर्ष २ मा पर्ने सम्भावना निकै कमजोर भएको छ । हारसँगै नेपालको ३ खेलबाट २ रहेको छ । अंक तालिकामा नेपाल पाचौं स्थानमा छ । यस्तै युएई भने ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । छनोटमा थाइल्याण्ड र हङकङ समान ५ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । यस्तै २ अंक जोडेको मलेसिया चौथो स्थानमा रहेको छ । दुवै खेल हारेको चीन अंकविहीन रहेर पुछारमा रहेको छ ।

नेपालले आफ्नो चौथो खेलमा मलेसियासँग शुक्रबार र अन्तिम खेल चीनसँग आइतबार खेल्नेछ । राउण्ड रोविनको आधारमा हुने खेलमा लिगको शीर्ष दुई टोलीले आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफयर्समा छनोट हुनेछ । ग्लोबल क्वालिफयर्सको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।

 

प्रतिक्रया दिनुहोस्