रुकुममा जिप दुर्घटना: दुईजना प्रहरी निरीक्षकसहित सातजनाको ज्यान गयो ।

रुकुम,९ मंसिर ।
जिप दुर्घटनामा परि रुकुममा ७ जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।रुकुमकोटबाट मुसीकोटका लागि छुटेको ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका ६ साँखमा गएराति दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार दुर्घटना हुँदा दुईजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित सातजनाको ज्यान गएको छ ।

दुर्घटनामा रुकुमकोटका प्रहरी निरीक्षक नविन श्रेष्ठ, उहाँकी श्रीमती प्रहरी निरीक्षक अनिता प्रधान, मुसीकोट–१ मठका भलिबल खेलका राष्ट्रिय रेफ्रि जनक शाह, गाडी व्यवसायी सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, शिक्षिका सुरेखा शाह श्रेष्ठ र यमुना मल्ल रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ ।

घाइते भएका जिप चालक प्रेम थापासहित यात्रुहरु प्रेम केसी र टेकबहादुर खत्रीको जिल्ला अस्पताल सल्लेमा सामान्य उपचारपछि दाङ पठाइएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षकद्वय नविन श्रेष्ठ र अनिता प्रधानको बिहेबाट फर्कदै गरेको जिप दुर्घटनामा परेको हो । उहाँहरुले तीन दिनअघि मात्र विवाह गर्नुभएको थियो ।

 

 

प्रतिक्रया दिनुहोस्