पहिलो चरणमा ६५ प्रतिशत मत खस्यो, रुकुमको दुईवटा मतदान कन्द्रमा भने पुनः मतदान हुने ।

काठमाडौं, १० मङ्सिर ।
आज सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको छ ।चुनाव सम्पन्न भएपछि साँझ ६ बजे आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले ३२ वटा जिल्लामा निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए । मतपेटिका जिलला सदरमुकाममा ल्याउने काम भइरहेको र अर्को चरणको निर्वाचन नभएसम्म सुरक्षित रूपमा राखिने अायोगले जनाएको छ ।

उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ । रुकुमको दुईवटा मतदान कन्द्रमा भने पुनः मतदान गरिने भएको छ । अनुसार आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने रुकुम पश्चिमका मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए ।

यी दुई मतदान केन्द्रमा आगामी मंसिर २१ गते मतदान गरिने उनले बताए । रत्ना निमाविको मतदान केन्द्रमा प्रतिनिधिसभाको र गत्तासैना मतदान केन्द्रमा समानुपातिकतर्फको मात्र मतदान हुने उनले बताए ।

दुवै मतदान केन्द्रको मतपेटिकामा एसिड राख्ने मान्छेको पहिचान हुन नसकेको र उनीहरुको खोजीकार्य जारी रहेको रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । रत्ना निमाविमा २५० र गत्तासैनामा ३६५ मत खसेपछि एसिड परेर मतपत्र जलेकाले मतदान स्थगित भएको थियो ।

 

प्रतिक्रया दिनुहोस्