सुर्खेतमा एमाले प्रवेशको लहर, कांग्रेस परित्याग गरी १ सय ५० जना एमालेमा ।

सुर्खेत, ११ मंसिर ।
पछिल्लो समय सुर्खेतमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । नेकपा एमाले सुर्खेतले नव आगन्तुक नेता तथा कार्यकर्ताहरु लाई स्वागत गरिरहेको छ ।

संविधान निर्माण, राष्ट्रवादी अडान, राज्य पुनर्संरचना र संविधान कार्यान्वयनमा एमालेले खेलेको भूमिकाका कारण पार्टीमा प्रवेश गर्नेको लहर चलेको हो । सोमबार एमाले सुर्खेतको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल छाडेर १ सय ५० जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिका– ३ का समाजसेवी शंकर सुनारसहित बल बहादुर विक, भिम बहादुर विक, धना परियार, सुरज विक, देवी विष्ट, मान कुमारी कसेरा, धनसरी विक, नन्दा विक, पार्वती सुनार, विजय सेर्पाली, दिलमाया विक, कर्ण नेपाली, शुसिला सुनार, निर्मला सुनारलगायतले कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
एमाले पोलिट्व्यरो सदस्य एवं निर्वाचन क्षेत्र नं. २ ‘क’ का वामपन्थी गठबन्धनका साझा उम्मेदवार यामलाल कंंडेलले नवप्रवेशीलाई टीका र खादा लगाएर स्वागत गरे ।

कांग्रेसभित्र राजनैतिक अस्थिरता, उदण्ड र हेपुवा प्रवृत्ति रहेको भन्दै आफूहरुले कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको समाज सेवी सुनारले बताए । कसैको करकापमा नभई एमालेको नीति, विचार र कार्यक्रमबाट प्रभावित भएर आफू एमालेमा प्रवेश गरेको उनले प्रस्ट पारे । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा.सबै क्षेत्रमा एमालेको जित सुनिश्चित भएसंगै नेपाली कांग्रेसका प्रभावशाली नेतासहित कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने लहर बढ्दो क्रममा रहेको एमाले नेता कंडेलले बताए । एमाले सबैको साझा पार्टी भएकाले कसैलाई भेदभाव नगरिने उनले औंल्याए ,।

प्रदेश नं. ६ मा वामपन्थीहरुको एकल सरकार बन्ने दावी गर्दै कंडेलले अब बन्ने स्थिर सरकारले विकास र समृद्धिको लहर ल्याउने उल्लेख गरे । आफ्नो भाग्य र भविष्य बनाउन सबै मतदाताले वामपन्थी उम्मेदवारलाई विजयी गराउनुपर्ने उनको भनाई थियो । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सुर्खेतका अध्यक्ष धुव्र कुमार शाही, एमाले नेता कुलमणी देवकोटा, वसन्त विक, पद्मा खड्का, सिवु परियार लगायतको उपस्थिति थियो ।

 

प्रतिक्रया दिनुहोस्