धनगढी–दिपायल फाष्ट ट्रयाक निर्माणका लागि आरजुको लिखित प्रतिवद्धता ।

धनगढी, ११ मंसिर ।
नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले कैलाली सदरमुकाम धनगढीबाट सुदूरपश्चिमको प्रमुख प्रशासनिक केन्द्र दिपायल जोड्ने बाटो निर्माण गर्ने लिखित प्रतिवद्धता जनाएकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका–११ घोरसुवा गाउँमा सोमबार बिहान आयोजित चुनावी भेलामा नेतृ राणाले धनगढी–दिपायल फाष्ट ट्रयाक निर्माणका लागि लिखित प्रतिवद्धता जनाएकी हुन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार राणाले सो क्षेत्रबाट आफूले निर्वाचन जिते आगामी चार वर्षभित्रैमा उक्त सडकलाई राजमार्ग स्तरको बनाउने लिखित प्रतिवद्धता गरेको नेपाल प्रेस यूनियन कैलालीका अध्यक्ष टेकराज जोशीले जानकारी दिए ।

निर्माण सम्पन्न गर्ने भनिएको ८२ किलोमिटर सडक धनगढीबाट विपी नगर–गडसेरा हुँदै डोटी सदरमुकाम दियापल पुग्ने बताइएको छ । अहिले त्यस क्षेत्रका जनताले धनगढीबाट डडेल्धुरा हुँदै दिपायल पुग्न झण्डै एक सय ८० किलोमिटर लामो दूरीको यात्रा गर्नु परिरहेको छ ।

 

प्रतिक्रया दिनुहोस्