अदालतद्वारा चूडामणि शर्मालाई एक करोड धरौटीसहित थुनछेक आदेश ।

काठमाडौं, १२ मंसिर ।
राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोप लागेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालत काठमाडौंले एक करोड धरौटी रकम माग गर्दै थुनछेकको आदेश जारी गरेको छ ।न्यायाधीशत्रय द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको आजको संयुक्त इजलाशले सो आदेश दिएको हो । माग बमोजिमको धरौटी रकम नदिए शर्मालाई थुनामा राखेर अदालती प्रकृया अगाडि बढ्ने विशेषका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । शर्माले धरौटी रकम तिरेको खण्डमा भने उनी  तारेखमा छुट्नेछन् ।

यसअघि अनियमित रुपले कर मिनाहा गरेको आरोप लागेका कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई समेत विशेष अदालतले एक एक करोड धरौटी रकम सहित थुनछेकको आदेश दिइसकेको छ ।

अख्तियारले गत साउनमा आयोगका तीनैजना पदाधिकारीविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दायर गरेको थियो ।

 

प्रतिक्रया दिनुहोस्