बम बिस्फोटमा परि ज्यान गुमाएका म्यादी प्रहरी बिनोद चौधरीको निधनप्रति काङ्ग्रेसद्वारा दुःख व्यक्त ।

काठमाडौं, १३ मंसिर ।
नेपाली कांग्रेसले दाङको तुलसीपुरमा कांग्रेसद्वारा आयोजित आमसभास्थल नजिक मंगलबार बम विस्फोटनमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीको निधनमा दुःख व्यक्त गरेको छ।पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत उनको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । कांग्रेसले मृतकका परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाका–१८ वर्षीय चौधरीको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । अन्य घाइतेको कोहलपुर मेडिकल कलेज र राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको कांग्रेसले जनाएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा तुलसीपुरमा आयोजित चुनावी सभामा पुग्दै गर्दा मङ्गलबार अपराह्न बम विस्फोट भएको थियो । सो पार्टीले लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले सुनियोजित तवरबाट बारम्बार यस्ता घटना दोहरिनु दुःखद भएको जनाएको छ ।

‘कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन्, कांग्रेसका नेता एवं कार्यकर्ताको हत्या नै गर्ने मनसायले गरिएको यस्तो आक्रमणप्रति घोर निन्दा र भत्र्सना गर्दछौं’ विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनाले शान्तिपूर्ण एवं निर्बाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकारमाथि ठाडो उल्लंघन गरेको र लोकतान्त्रिक संस्कारको उपहास भएको कांग्रेसको ठहर छ ।

कांग्रेसले यस प्रकारका अवाञ्छित क्रियाकलाप पुनः नदोहोर्याउन तथा घटनामा संलग्नलाई तत्काल खोजी गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

 

प्रतिक्रया दिनुहोस्