सुर्खेतमा कांग्रेस पूर्व कोषाध्यक्षद्धारा पार्टी परित्याग ।

सुर्खेत, १३ मंसिर ।
नेपाली कांग्रेस सुर्खेतका पूर्व कोषाध्यक्ष प्रेम कुमार पन्तले पार्टी परित्याग गरेका छन् ।

विज्ञप्ती प्रकाशित गरी पन्तले आफू कांग्रेसमा नरहेको र आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने बताएका हुन् । ‘लामो समयदेखि कांग्रेसमा रहि पार्टीको सिद्धान्तप्रति बफादार रहदै निष्ठापूर्वक काम गरिरहेकोमा जिल्ला नेतृत्व र केन्द्रिय नेताहरुले पार्टीका पुराना एवं निष्ठावान कार्यकर्तालाई संरक्षण गर्नुको साटो अपहेलित हुने व्यवहार गरेकाले पार्टी परित्याग गरेको हुँ ’ पन्तद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रजातान्त्रिक भनिने पार्टीका नेताहरुको अप्रजातान्त्रिक व्यवहारले तमाम कार्यकर्ताको मनमा हिनताबोध भएको विज्ञप्तीमा उल्लेख छ । कांग्रेसका नेताबाट मुलुक र समाजको हित नहुने ठहर गर्दै पन्तसहित कांगे्रस सुर्खेतका सक्रिय सदस्य कुल बहादुर विसीलगायतले पार्टी परित्याग गरेको बताएका छन् ।

यसैबिच, पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने क्रम बढ्दो छ । नेकपा मसाल सुर्खेतका प्रवक्ता बालकृष्ण सुनार, कांग्रेस नेता एवं समाजसेवी शंकरमान सुनारलगायत सयौंको संख्यामा कांग्रेस कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

संविधान निर्माण, राष्ट्रवादी अडान, राज्य पुनर्संरचना र संविधान कार्यान्वयनमा एमालेले खेलेको भूमिकाका कारण पार्टीमा प्रवेश गर्नेको लहर चलेको एमाले सुर्खेतका नेता कुलमणी देवकोटाले बताए ।

 

प्रतिक्रया दिनुहोस्