अभ्यास खेलमा अमेरिकासँग नेपाल पाँच विकेटले पराजित ।

काठमाडौं, १५ मंसिर ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत अन्तिम चरणको खेलको दौरानमा रहेको नेपाल अभ्यास खेलमा अमेरिकासँग पाँच विकेटले पराजित भएको छ ।९० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अमेरिकाले २२.३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाउन सफल भयो । अमेरिकाका लागि शैद अब्दुल्लाहले ४४ रन बनाएका थिए । त्यस्तै, रोय सिल्भा २५ र तिमिल पटेल ७ रनमा अविजित रहे । नेपालका लागि सोमपाल कामी र सागर पुनले समान २–२ विकेट लिए ।

यसअघि युएईको अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै ३६.१ ओभरमा अलआउट हुँदै ८९ रन बनाएको थियो । नेपालका लागि कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् । शरद भेषवाकरको कप्तानीमा उत्रिएको नेपालका लागि वसन्त रेग्मीले २१ रन बनाएका थिए । त्यस्तै, ओपनर दिलिप नाथले १६, दिपेन्द्रसिंह ऐरीले १२, कुशल भुर्तेल १० र सागर पुनले ९ रन बनाए भने अन्य खेलाडी सस्तैमा आउट भए । कप्तान शरद शून्य रनमा आउट हुँदा पहिलो पटक राष्ट्रिय टिममा डेब्यु गरेका अनिल कुमार शाह पनि शून्य रनमा नै पेभेलियन फर्केका थिए ।

अमेरिकाका लागि जपेन पटेलले ४, रोय सिल्भा र नोस्थुश केन्जिगले समान २–२ विकेट लिए । नेपालले अब अर्को मैत्रीपूर्ण अभ्यास खेल केन्यासँग प्रतिस्पर्धा गर्नेछ ।
मंसिर २० गते बुधबार र २२ गते शुक्रबार युएईसँग शिख जायद क्रिकेट रंगशालामा नेपालले दुई खेल खेल्दैछ । नेपाल र युएईको लागि यो खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ । विश्वकप छनोटमा पुग्न असफल यी दुई टिम यसअघि नै डिभिजन टु मा घटुवा भएका हुन् ।

 

प्रतिक्रया दिनुहोस्