निर्वाचनको तिनदिन अघिनै सिमानाका बन्द गरिने ।

दाङ,१७ मंसिर ।
मङ्सिर २१ मा हुने निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न चुनाव हुनु भन्दा तीन दिन अघिदेखि नै नेपाल–भारत सीमा वन्द गरिने भएको छ । गत मंसिर ५ गते बाँकेमा भएको दुइ देशका सुरक्षा अधिकारीको वैठकको निर्णयअनुसार दुबै देशले चुनावको ७२ घण्टाअघि नै सीमा वन्द गर्ने सहमति भएको दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद आचार्यले जानकारी दिए । जसअनुसार मंसिर १८ गतेदेखि मतदान सम्पन्न नहुँदासम्म अत्यावश्यकीय सेवाबाहेक अन्य सबै प्रकारका आवतजावत निषेध गरी सीमा सिल गरिने उनले बताए । अहिले ती क्षेत्रमा विशेष सुरक्षा सर्तकता अपनाईएको छ ।

नेपालको सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षाका खटिएका भारतीय सीमा बलले संयुक्त रुपमा नाका क्षेत्रको सुरक्षा ब्यवस्था कडाई गरेको उनले बताए । नाका क्षेत्रमा हतियार ओसारपसार हुन सक्ने तथा निर्वाचन बिरोधी शक्तिहरुको घुसपैठ हुन सक्ने खतरा रोक्न सशस्त्र प्रहरीले हरेक नाका क्षेत्रहरुमा निगरानी बढाउनुका साथै विशेष ‘अप्रेशन’ थालेको छ ।

दाङमा नेपाल भारत सीमा जोडिएका ३१ वटा साना ठूला नाका छन् । नेपाल भारत सीमा नाकाहरु निर्वाचन सुरक्षाका लागि निकै संवेदनशील मानिन्छन् ।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोईलावासका प्रमुख सशस्त्र प्रहरी निरिक्षक ईश्वर डिसीले नाका क्षेत्रहरुबाट निर्वाचन विरोधी गतिविधी नहोस् भनेरै विशेष सुरक्षा रणनीति अपनाईरहेको बताए ।

उनका अनुसार नाकाबाट नेपाल भारत आवत जावत गर्ने नागरिकहरुको चेक जाँचमा अत्यधिक कडाई गरिएको छ । यसैगरि हरेक नाकाहरुमा सशस्त्र प्रहरीले ‘सर्च अप्रेशन’ चलाएको छ । नेपाल भारत आवत जावत गर्ने हरेक नाकाहरुमा चेकजाँच कडाई गर्नुका साथै नाका क्षेत्रहरुमा विशेष गस्ती टोली परिचालन गरेर सुरक्षा निगरानीलाई बढावा दिएको सशस्त्र प्रहरी निरिक्षक डिसीले बताए ।

नेपालको निर्वाचन सुरक्षाका लागि भारतसँग जोडिएका सीमा क्षेत्र चुनौती नबन्ने प्रहरीले बिश्वास लिएको छ । यसका लागि पुरै शक्ति परिचालन गरेको प्रहरीले वताएको छ । सशस्त्र प्रहरी निरिक्षक डिसीका अनुसार अनुसार अहिलेसम्म नाका क्षेत्रमा निर्वाचन विरोधी क्रियाकलाप भएको छैन । पछिल्लो साता प्रहरीको सक्रियता झनै बढेको छ ।

नेपाल भारत सीमा क्षेत्र मध्य कोईलवास नाकामा मात्रै सीमा सुरक्षाबलको पोष्ट छ । अन्य नाकाहरु खुलै छन् । यसर्थ पनि नेपाल भारतीय सीमा क्षेत्रहरु सुरक्षा चुनौतीका हिसावले अत्यन्त जोखिमको सुचीमा पर्छन् । “हाम्रो जनशक्तिले भ्याएसम्म हरेक नाकाहरुमा गस्ती बढाएका छौँ,” सशस्त्र प्रहरी निरिक्षक डिसीले भने, “कुनै पनि नाकाबाट निर्वाचन विरोधी शक्ति र हात हतियार प्रवेश हुन नदिनेमा हामी सकृय छौँ ।”

नेपाल भारत सीमा क्षेत्रमा पर्ने दाङको ८३ किलोमिटर क्षेत्र यातायात सेवाबाट बञ्चित छ । कोईलावास बाहेक अरु सबै नाकाहरुमा पुग्न पैदल हिँड्नुपर्छ । यातायातको चरम असुविधा रहेको नाका क्षेत्रको सुरक्षामा यसले पनि प्रभाव पारेको छ । अर्थात समयमा सुरक्षा निकाय समेत सबै ठाउँमा पुग्न सक्ने अवस्था छैन ।

 

प्रतिक्रया दिनुहोस्