10 December 2019  |   मङ्लबार, मंसिर २४, २०७६

तरुलमा पनि परनिर्भरता, भारतबाट ल्याइयाे २ कराेडकाे तरुल

    | प्रकाशित मितिः मङ्लबार, माघ १, २०७५  

काठमाडौं। तरुलमा पनि नेपाल परनिर्भर छ। माघे संक्रान्ति मान्नसमेत तरुल आयात गर्नुपर्छ। कन्दमुल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्यधिक हुन्छ। यसलाई चाकु र घिउसँगै खाइन्छ। उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ।

त्यसमध्ये १० प्रतिशत (करिब दुई करोड रुपैयाँको (सिम्मल तराई जातको) तरुल भारतको उत्तर प्रदेशबाट आयात भएको छ। ‘अहिले आयात दर भने विस्तारै घट्दो क्रममा छ,’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले भने, ‘स्वदेशमै ठूलो परिमाणमा उत्पादन हुन थालेकाले आयात दर घटेको छ।’ महासंघका अनुसार यो वर्षको ६ दिन (पुस २५ गतेदेखि ३० गतेसम्म) मा करिब दुई हजार पाँच सय टन विभिन्न प्रकारका तरुलको कारोबार भएको छ। ‘

गत वर्षभन्दा ४० प्रतिशतले कारोबार बढ्यो,’ अध्यक्ष घिमिरेले भने, ‘अघिल्लो वर्ष सीमित बजारबाट १३ करोड मूल्यबराबरको तरुल बिक्री भएको थियो। तर यो वर्ष बजार थपिएको छ।’ उनका अनुसार तरुलको मुख्य कारोबार हुने स्थल कालिमाटी तरकारी बजार हो। यो बजारमार्फत ६ दिनमा साढे १० करोड मूल्यको तरुल बिक्री भएको छ। गत वर्ष कालिमाटी बजारमा सात सय टनका हाराहारीमा तरुल कारोबार भएको थियो ।

बाँकी बल्खु बजारबाट पाँच सय ५०, बानेश्वर बजारबाट ८०, जडिबुटी बजारबाट ६०, बालाजु बजारबाट सय र टुकुचा बजारबाट ८० टनको हाराहारीमा तरुलको कारोबार भएको छ। ‘व्यवसायीले बाहिरबाट ल्याएको सबै तरुल सोमबार साँझसम्म बिक्री भएको छ,’ अध्यक्ष घिमिरेले भने,‘मंगलबार बिहान त एकादुई व्यवसायीसँग मात्र तरुल बाँकी हुन्छ।’

उनका अनुसार पछिल्लो ४–५ वर्षयता तरुलको व्यापार निकै फस्टाएको छ। पहिले खान नरुचाउने उपभोक्ता पनि स्वास्थ्यका लागि लाभदायक मानिने तरुलका परिकारमा पल्केका छन्। उपत्यकामा हुने तरुलको कूल कारोबारमध्ये झण्डै ८० प्रतिशत सर्लाहीबाट भित्रिन्छ। बाँकी २० प्रतिशतमा भारत र स्वदेशकै अन्य जिल्लाको उत्पादनले हिस्सा ओगटेको छ। -अन्नपूर्ण पाेष्ट 

प्रकाशित मितिः मङ्लबार, माघ १, २०७५     6:49:48 AM  |

प्रतिक्रया दिनुहोस्