24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

अब सिंहदरबारमा थन्किएका २०० गाडी प्रयाेगमा ल्याइने

    | प्रकाशित मितिः मङ्लबार, माघ १, २०७५  

काठमाडौं ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र लामो समयदेखि थन्किएका करिब २ सय गाडीको उपयोग गर्ने भएको छ। ती गाडीलाई प्रदेश, स्थानीय तह तथा सीसीभीटीलगायतका निकायमा पठाइने गृहकार्य अघि बढाइएको हो।

प्रधानमन्त्री कार्यालयले अब सिंहदरबारभित्र पुराना गाडी डम्प गरेर राख्न निषेध गरेको छ। मर्मत गरेर प्रयोग गर्न मिल्नेलाई प्रयोग गर्ने र नमिल्नेलाई तत्काल लिलाम गर्नसमेत प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई निर्देशन दिएको छ। यस्तै प्रावधान देशभरका सरकारी निकायमा समेत लागू गरिने भएको छ।

प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयमा डम्प गरेर राखिएका र मर्मत गर्न नमिल्ने गाडीलाई क्रेन लगाएर हटाउने अभियानसमेत थालेको छ। डम्प गरेर महिनौंसम्म गाडी राख्ने निकायलाई कारबाहीसमेत गरिने भएको छ। सिंहदरबारभित्र विभिन्न मन्त्रालय र निकायमा अर्बौं मूल्यका झन्डै २५० गाडी लामो समयदेखि उपयोगविहीन अवस्थामा राखिँदै आएका छन्। कतिपय मर्मत गरेर चालू अवस्थामा आउन सक्ने खालका छन् भने कतिपय गाडी कवाडीमा बिक्री गर्नुपर्ने अवस्थाका छन् ।

मर्मत गरेर चलाउन सकिने झन्डै २ सय वटा गाडीको व्यवस्थापन गर्न थालिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए। कुँवरका अनुसार चालू अवस्थामा आउन सक्ने गाडीहरू छनोट गरी प्रदेश, स्थानीय तह तथा अन्य सरकारी निकायमा पठाउने क्रम थालिएको छ। -राजधानी दैनिक

प्रकाशित मितिः मङ्लबार, माघ १, २०७५     6:58:13 AM  |

प्रतिक्रया दिनुहोस्