24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

नयाँ मर्यादाक्रममा जनप्रतिनिधि हाबी

    | प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५  

काठमाडौं । सरकारले सार्वजनिक गरेको पछिल्लो मर्यादाक्रममा जनप्रतिनिधि हाबी भएका छन् । कर्मचारीमा पनि मर्यादाक्रम थपघट गरिएको छ । तेस्रो नम्बरसम्म (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) पुरानै मर्यादाक्रमलाई निरन्तरता दिइएको छ । चौथो नम्बरबाट भने परिवर्तन गरिएको छ ।

सरकारले पाँचौँ मर्यादाक्रममा रहेका प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई चौथोमा ल्याएको छ । यसअघि चौथोमा प्रधानन्यायाधीश रहँदै आएकोमा अब सभामुख र अध्यक्षलाई पनि समेटिएको छ । पाँचौँ नम्बरमा पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्का पूर्वअध्यक्षलाई राखिएको छ । यसअघि पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैटौँमा थिए भने पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष सातौँमा थिए ।प्रदेश प्रमुखको मर्यादाक्रमम प्रदेशभित्रै छैटौँ र प्रदेशबाहिर सातौँ तोकिएको छ । यसअघि प्रदेश प्रमुखको वरीयता सातौँ नम्बरमा थियो । प्रदेश सरकारका मुख्यमन्त्रीको बरीयता भने तलमाथि गरिएको छैन । पहिलेझँै मुख्यमन्त्रीको वरीयता सातौँ नै कायम गरिएको छ ।

प्रदेश सभामुखलाई आठाँै नम्बरमा राखिएको छ भने मुख्यसचिवलाई नवौँ नम्बरमै यथावत् राखिएको छ । यसअघि प्रदेश सभामुख १०औँ र मुख्यसचिव नवौँ वरीयतामा थिए । प्रदेश उपसभामुखलाई नवौँ वरीयतामा राखिएको छ । प्रदेशका मुख्यसचिव १२औँ वरीयतामा छन् । यसअघि ११औँ वरीयतामा थिए । प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसद र प्रदेशका मन्त्रीलाई १०औँ वरीयतामा राखिएको छ ।

पुरानो मर्यादाक्रममा कार्यपालिकाका मुख्यसचिव, व्यवस्थापिकाका महासचिव र न्यायपालिकाका मुख्य रजिस्ट्रार एउटै वरीयतामा थिए । तर, नयाँ मर्यादाक्रमअनुसार मुख्यसचिव नवौँ वरीयतामा छन् भने महासचिव र मुख्य रजिस्ट्रार ११औँ नम्बरमा धकेलिएका छन् । -naya patrika

 

प्रकाशित मितिः बिहिबार, माघ ३, २०७५     7:35:38 AM  |

प्रतिक्रया दिनुहोस्