21 February 2019  |   बिहिबार, फाल्गुन ९, २०७५

डा. केसीसँगै अनशन बसेका विजय थापालाई पनि काठमाडौँ ल्याइयो

    | प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५  

काठमाडौँ । चिकित्सा शिक्षा विधेयकलाई संशोधनबिना  प्रतिनिधिसभाबाट हुबहु पारित हुनुपर्ने माग राखी इलाममा आठ दिनअघि आमरण अनशन शुरु गरेका युवा विजय थापालाई  थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

नेपाली सेनाको एनए ००५५ कलसाइन भएको हेलिकप्टर शुक्रबार बिहान १० बजे अनशनकारी थापालाई लिएर चन्द्रगढी विमानस्थलबाट काठमाडौँ आएको हो । इलाममा अर्का अनशनकारी प्राडा गोविन्द केसीसँगै अनशन बसेका काठमाडौँका विद्यार्थी थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र इलाममा उपचार सम्भव नभएको चिकित्सकले बताएपछि उनलाई शुक्रबार बिहान ३ बजे इलामबाट एम्बुलेन्समार्फत झापा ल्याइएको थियो ।

झापा ल्याएर उनलाई मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको थियो । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र प्रहरीका जिल्लास्थित उच्च अधिकारी थापालाई काठमाडौँ ल्याउने बेलामा विमानस्थलमा उपस्थित थिए । अर्का अनशनकारी प्राडा केसीलाई चन्द्रगढी विमानस्थलबाट राति नै नेपाली सेनाकै एमआई १७ नाइटभिजन हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

दुवै अनशनकारीलाई जीवनरक्षाका लागि थप उपचार आवश्यक भएको हुँदा सरकारले नै काठमाडौँ लैजाने व्यवस्था मिलाएको हो । दुवैलाई एउटै हेलिकप्टरमार्फत राति नै काठमाडौँ लैजाने तयारी सरकारले गरेता पनि चन्द्रगढी विमानस्थलमा अनशनकारी थापालाई ल्याउन आधा घण्टा ढिलाइ भएको र त्यहीबेला प्राडा केसीको स्वास्थ्य झन् नाजुक बनेपछि केसीलाई मात्र लिएर सेनाको हेलिकप्टर राति काठमाडौँ आएको थियो ।

प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५     11:44:03 AM  |

प्रतिक्रया दिनुहोस्