18 June 2019  |   मङ्लबार, असार ३, २०७६

नवनियुक्त राजदूतहरुलाई तालिम दिइने

    | प्रकाशित मितिः आइतवार, माघ ६, २०७५  

काठमाडौं । विभिन्न मुलुकका लागि नयाँ राजदूत नियुक्ति प्रक्रिया अघि बढेसँगै नवनियुक्त राजदूतहरुलाई तालिम दिइने भएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठाले यही माघ दोस्रो सातादेखि नयाँ राजदूतलाई तालिम दिने तयारी गरेको हो ।

पाँचदिने तालिममा परराष्ट्र सेवाका करियर राजदूत र राजनीतिक नियुक्ति दुवै थरी राजदूत सहभागी हुने प्रतिष्ठानले जनाएको छ । आफ्नो कार्यकालमा राजदूतहरुले अपनाउनुपर्ने जिम्मेवारी, कूटनीतिक आचरण, व्यवहार, मर्यादा, नेपालको प्राथमिकताजस्ता पक्षमा केन्द्रित रहेर प्रतिष्ठानले नवनियुक्त राजदूतलाई तालिम प्रदान गर्दै आएको छ । प्रतिष्ठान परराष्ट्र मन्त्रालय मातहतको अर्धसरकारी निकाय हो ।

सरकारले इजरायलका लागि डा. अञ्जाल शाक्यलाई राजदूत नियुक्त गरिसकेको छ भने भारतका लागि पूर्वराजदूत एवं पूर्वमन्त्री निलाम्बर आचार्यको नियुक्तिको अन्तिम प्रक्रिया अघि बढेको छ । आचार्यलाई गत बिहीबार भारतले सहमति पत्र (एग्रिमो) पठाएसँगै उहाँलाई आज आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत नियुक्त गर्ने परराष्ट्र स्रोतले जनाएको छ ।

सरकारले गत कात्तिक २५ गते शाक्य, आचार्य र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई संयुक्त अरब इमिरेट्स (यूएई) का लागि राजदूत सिफारिस गरेको थियो । तर ढकालको एग्रिमो भने अझै प्राप्त नभएको परराष्ट्रले जनाएको छ ।  -नेपाल समाचारपत्र

प्रकाशित मितिः आइतवार, माघ ६, २०७५     6:39:38 AM  |

प्रतिक्रया दिनुहोस्