24 October 2019  |   बिहिबार, कार्तिक ७, २०७६

प्रहरीको समायोजन विधेयक -प्रदेश प्रहरीले पनि प्रहरी कर्मचारी भर्ना लिन पाउने

    | प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५  

काठमाडाैं । समायोजनमा प्रदेश रोज्ने प्रहरीलाई एक तह ग्रेड बढुवाको सुविधा दिने गरी नेपाल प्रहरीको समायोजन ऐन बन्ने भएको छ । गृह मन्त्रालयले प्रहरीको समायोजन विधेयक तयार गरी संसद्मा पेस गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ । मन्त्रिपरिषद्को निर्णयपछि विधेयकलाई कानुनी रूप दिन अबको केही दिनभित्रै संसद् सचिवालयमा दर्ता गरिने तयारी छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल प्रहरीको समायोजन विधेयक मन्त्रिपरिषद् निर्णयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिएको बताए । ‘नेपाल प्रहरीसँग सम्बन्धित तीनवटा विधेयक तयार भएको छ । त्यसमध्ये एउटा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्य, सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी बनाएको विधेयक हो । जुन संसद् सचिवालयमा पेस भइसकेको छ,’ उनले भने, ‘संघीय प्रहरी ऐन र नेपाल प्रहरीको समायोजनसम्बन्धी विधेयक तयार छ । संघीय प्रहरी ऐनको विधेयक राय लिन कानुन र अर्थ मन्त्रालयमा छ । समायोजनसम्बन्धी तयार विधेयक भने मन्त्रिपरिषद्मा पेस भइसकेको छ ।’

गृह मन्त्रालयका अनुसार समायोजनमा जान चाहने प्रहरी कर्मचारीलाई निजामतीमा जस्तै ग्रेड सुविधा दिएर पठाइनेछ । जसअनुसार प्रदेशमा जान चाहने प्रहरी कर्मचारीको सेवासुविधा साबिकको भन्दा एक ग्रेड बढ्नेछ । समायोजनमा संघ नै रोज्ने प्रहरी कर्मचारीको हकमा भने यो नियम लागू हुनेछैन । समायोजन सहज होस् भन्ने उद्देश्यले विधेयकमा यस्तो उल्लेख गरिएको गृहको भनाइ छ । नयाँ पत्रिका

प्रकाशित मितिः मङ्लबार, माघ ८, २०७५     7:14:45 AM  |

प्रतिक्रया दिनुहोस्