14 August 2019  |   बुधबार, साउन २९, २०७६

नरेन्द्र मोदीलाई आच्छु आच्छु पार्ने गुजरातका युवा हार्दिक पटेलले विवाह गर्दै

    | प्रकाशित मितिः बुधबार, माघ ९, २०७५  

काठमाडौं । एकताका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आच्छु आच्छु पार्ने गुजरातका युवा हार्दिक पटेलले यही जनवरी २७ तारेखमा विवाह गर्ने भएका छन् । 

उनको आरक्षण आन्दोलनले सन् २०१५मा मोदीलाई निकै अप्ठेरोमा पारेको थियो । उनको विवाहको कार्यक्रम सुरेन्द्रनगर जिल्लाको दिग्सर गाउँमा हुने भएको छ । दिइएको सूचना अनुसार सामान्य समारोहकाबीच उनको विवाह कार्यक्रम सम्पन्न गरिनेछ । जसमा करिब १०० अतिथीहरु सामेल हुने कार्यक्रम रहेको बताइएको छ । उनले किन्जल नामकी युवतीसँग विवाह गर्न लागेका हुन् । विवाहपछि उनीहरु दुवै जना आफ्नो गाउँ बीरमगाम जानेछन् ।

हार्दिकका अनुसार किन्जलसँग उनको ‘लब म्यारिज’ नभइ ‘एरेन्ज म्यारिज’ हुन लागेको हो । तर, उनीहरु गएका सात वर्षदेखि एक आपसमा चिन्छन्  । यद्यपि उनको परिवारलाई गएका तीन चार वर्षदेखि मात्रै उनीहरुबीचको चिनजानका बारेमा जानकारी थियो ।हार्दिकका अनुसार विवाहको कुरा लामो समयदेखि चलिरहेको थियो । उनीहरुबीच बुधबार अर्थात् जनवरी २३ का दिन सगाई हुनेछ । २७ तारेखमा विवाहको कार्यक्रम रहेको छ । आरक्षणको आन्दोलन चल्दा उनी गिरफ्तार भएका थिए । त्यतिबेला उनले र किन्जलले आफूहरुबीचको सम्बन्धका बारेमा परिवारका सदस्यहरुलाई बताएका थिए ।

हार्दिकका अनुसार किन्जलको परिवारलाई यो कुरा चित्त बुझेको थिएन । किनकी उनले राजनीति गरेको किन्जलको परिवारले मन पराएको थिएन । तर, समयसँगसँगै सहमति भएको थियो । किन्जलले स्नातकोत्तर सम्मको पढाई सकेकी छन्,परिवारमा उनका मातापिता तथा एक भाइ र बहिनी छन् ।

सन् २०१५मा गुजरातको विसननगरको बिशाल र्यालीदेखि अहमदावादमा भएको अनिश्चितकालीन उपवास सम्मका गतिविधिले भारतको राजनीतिमा हार्दिक स्थापित भएका थिए । पछिल्लो चार वर्षमा भर्खरै कलेज पास आउट भएको व्यक्ति राज्यको गिनेचुने व्यक्तिका रुपमा मात्रै चिनिएनन् कि प्रधानमन्त्री मोदी समेत सोही स्थानको भएकोले उनलाई पनि टाउको दुखाईको विषय भए ।

तीन वर्षको राजनीतिक जीवनमा उनी राजद्रोहको आरोपमा ९ महिना जेल बस्नुपरेको थियो । उनलाई ६ महिना छिमेकी राज्यमा निर्वासनमा समेत बस्नु परेको थियो । गुजरातका विभिन्न थानामा उनको विरुद्ध ५६ वटा मुद्धा दर्ता रहेका छन् । हार्दिकको प्रभावका कारणले नै सत्तारुढ भारतीय जनता पार्टी(भाजपा)ले गुजरातका मुख्यमन्त्रीलाई बदल्नुपरेको थियो । सन् २०१५मा चर्चाको उचाईमा पुगेका हार्दिक  सन् २०१७पछि भने अलि ओझेलमा परेका थिए ।तथापि उनी अझै त्यस क्षेत्रमा सेलीब्रेटीको रुपमा चिनिन्छन् ।  पाटीदार अनामत आन्दोलन समिति बनाएर उनले आन्दोलनको नेतृत्व गरेका थिए ।

उनको आन्दोलनका कारण गुजरातका कैयौं स्थानमा कर्फयु लागेको थियोे । यस घटनाका क्रममा १४ जनाको मृत्यु भएको थियो ।उनीपछि शिवसेनामा जाने चर्चा भएकोमा पछि अस्वीकार गरेका थिए । उनले कांग्रेस आइका अध्यक्ष  राहुल गान्धीसँग निरन्तर भेटेको आरोप पनि लागेको थियो । तर, दुवै पक्षले अस्वीकार गरेका थिए । सन् २०१७मा  उनी राष्ट्रिय कांग्रेसमा प्रवेश गरेका थिए । हार्दिक सन् १९९३को जुलाई २० मा गुजरातमा जन्मेका हुन् । उनी सन् २०१०मा अहमदावादमा कलेज भर्ना भएका थिए ।

सन् २०१५मा हार्दिककी दिदी मोनिका राज्य सरकारको एउटा छात्रबृत्तिमा परिनन् । तर, उनकी एक साथी भने कोटा मार्फत त्यसमा पर्न सफल भएकी थिइन् । अरु जातले त्यसबाट लाभ पाएपनि पाटीदारले लाभ नपाएको भनेर उनले आन्दोलन शुरु गरेका थिए ।

सामाजिक सञ्जाल प्रयोग गरेर शुरुमा आन्दोलन चर्काएका थिए । पछि त्यो आन्दोलन सामाजिक सञ्जालमा मात्रै सिमित रहेन । उनी पछि यौन काण्डमा फसेको विवरण समेत  भाइरल भएको थियो । त्यसले पनि हार्दिकलाई केही अप्ठेरो परेपनि अहिले भने ती सबै समश्याबाट लगभग मुक्त भएको जनाइएको छ । (एजेन्सी/Dainik Bhaskar )

प्रकाशित मितिः बुधबार, माघ ९, २०७५     6:12:07 AM  |

प्रतिक्रया दिनुहोस्