26 August 2019  |   सोमवार, भदौ ९, २०७६

पूर्वउपप्रधानमन्त्री भरतमोहनको स्वास्थ्यमा थप समस्या

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता, पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा थप समस्या देखिएपछि नख्खुस्थित मेडिसिटी अस्पतालको सिसियू (सघन) कक्षमा उपचार सुरु गरिएको छ । 

मुटु, श्वासप्रश्वास र छातीको संक्रमणको उपचारका लागि गत २३ पुसमा अस्पताल भर्ना भएका अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार भएपछि उनी ३० पुसमा डिस्चार्ज भएका थिए । तर, अचानक समस्या बल्झिएपछि पुनः २ माघको राति सोही अस्पताल भर्ना गरिएको थियो ।

‘मुटु र श्वासप्रश्वासमा समस्या थपिएपछि अहिले सघन उपचार कक्ष (सिसियू)मा उपचार भइरहेको छ,’ अधिकारीका स्वकीय सचिव महेश विष्टले भने, ‘२४ घन्टाको अब्जर्भेसनमा नयाँ औषधि चलाएर मुटुमा देखिएको समस्या कम गर्ने चिकित्सकहरूको प्रयास छ ।’ मुटुरोग विशेषज्ञ डा. रञ्जित शर्मासहितको टोलीले अधिकारीको उपचार गरिरहेको छ ।

उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले चिकित्सकलाई उद्धृत गर्दै अधिकारीको मुटुको चाल र छातीको रिपोर्ट सुधारोन्मुख देखिएको जानकारी दिए । चिकित्सकहरूले होहल्ला र भेटघाटका कारण संक्रमण बल्झिएकाले समस्या थपिएको परिवारका सदस्यहरूलाई जानकारी दिएका छन् ।

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     7:02:56 AM  |

प्रतिक्रया दिनुहोस्