15 August 2019  |   बिहिबार, साउन ३०, २०७६

चिकित्सा शिक्षा विधेयकसँगै बाँकी माग पनि पूरा हुनैपर्ने डा.केसीको अडान, सत्याग्रह कायमै राख्ने !

    | प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५  

काठमाडौं । डा. गोविन्द केसीले आफ्नो सत्याग्रह जारी रहेको जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिन माग गरेका छन् । 

चिकित्सा शिक्षा विधेयक पारित भएकै दिन शुक्रबार उनले पत्रकार सम्मेलनमार्फत यस्तो जनाएका हुन् ।
केसीका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ–हामीले पौष २५ गतेदेखि शुरु गरेको सत्याग्रहलाई जारी राख्ने जानकारी गराउँदै तथा चिकित्सा शिक्षा विधेयकका अतिरिक्त हामीले राखेको बाँकी छ वटा मागहरु पूरा गर्न स्मरण गर्छौं ।”

जवसम्म सबै मागहरू पूरा हुदैन्न तवसम्म सत्याग्रह जारी रहन्छ बिज्ञप्तीमा भनिएको छ ।

प्रेस विज्ञप्ति हेर्नुहोस 

आदरणीय आम नागरिक, दाजुभाइ तथा दिदीबहिनीहरु

नेपालको स्वास्थ्य र चिकित्स शिक्षा क्षेत्रको सुधार तथा सुशासनका लागि हामी निरन्तर संघर्षरत रहेकोमा हाम्रो विगत सात वर्षको संघर्षको प्रतिफल स्वरुप राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी हुने अवस्थामा पुगेको थियो । यसबीच सरकार आफैंले गठन गरेको विज्ञहरुको उच्चस्तरीय कार्यदलको प्रतिवेदनका साथै यस अगाडि सरकारहरुले जारी गरेका अध्यादेशहरुसमेतबाट दीर्घकालीन सुधारका लागि कस्तो ऐन आउनुपर्छ भन्ने तय भइसकेको अवस्था थियो । त्यसै आधारमा यस अगाडि १५ औं सत्याग्रह टुंग्याउने क्रममा नेपाल सरकारसँग बुँदागत सम्झौता भएको थियो ।

तर उक्त विधेयक पारित गर्ने काम अन्तिम अवस्थामा आएपछि प्रतिनिधि सभामा सत्तारुढ दलले जालझेल र जबर्जस्ती मात्रै गरेन, प्रधानमन्त्री तथा संसदीय दलको नेताले गराएको सम्झौता प्रतिकुल हुने गरी विधेयक पारित गर्यो । यसले सरकार तीन करोड नागरिकको गुणस्तरीय र सर्वसुलभ सेवा पाउने अधिकारलाई भन्दा बढी महत्व पार्टीसँग साँठगाँठ भएका अमुक मेडिकल कलेजहरुको स्वार्थलाई दिएको पुष्टि भएको छ । त्यसले सम्पूर्ण नेपाली नागरिकहरुमाथि नै सुनियोजित रुपमा धोका भएको छ । त्यसैले हामीले पौष २५ गतेदेखि शुरु गरेको सत्याग्रहलाई जारी राख्ने जानकारी गराउँदै तथा चिकित्सा शिक्षा विधेयकका अतिरिक्त हामीले राखेको बाँकी छवटा मागहरु पूरा गर्न  स्मरण गर्छौं ।

आफैंले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत तथा आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्री के पी शर्मा ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ । प्रधानमन्त्रीको निर्णय क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मुल्य राष्ट्रले चुकाइरहन पर्नु दुर्भाग्यपूर्ण कुरा हो ।

साथै, आज सत्याग्रहको पक्षमा प्रदर्शन गरिरहेका नागरिकहरुलाई धरपकड र गिरफ्तार गरिएकोमा तत्काल सकुशल रिहाइको माग गर्दै हाम्रो अभियानमा सहभागी हुन सबै नागरिकहरुलाई खूला अपिल गर्दर्छौं ।

डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज
२०७५ माघ ११

 

 

प्रकाशित मितिः शुक्रबार, माघ ११, २०७५     6:30:24 PM  |

प्रतिक्रया दिनुहोस्