14 August 2019  |   बुधबार, साउन २९, २०७६

गजल : मेरो एउटा तस्बिर बनाई झुण्डाउनु दलिनमा – दीपित

    | प्रकाशित मितिः शनिबार, माघ १२, २०७५  

गजल
परदेश जाँदा बाले सोध्थे फर्किन्छौ कति दिनमा?
आमा रुन्छिन् रे अचेल सम्झिसम्झि छिनछिनमा।।

थुप्रै नेपाली युवाहरू परदेशमै ज्यान गुमाउँछन्
कोहि सुतेर उठ्दैनन् कोहि बेरिन्छन् मेसिनमा।।

धन कमाई ऋण तिर्ने सपना विदेशमै बिलायो
साहुले आँखा गाढेको छ खेतियोग्य जमिनमा।।

भन्थ्यो छोरो आमा बा फर्किने कुनै टुङ्गो छैन
मेरो एउटा तस्बिर बनाई झुण्डाउनु दलिनमा।।

आमा बेहोस छिन् अनि पुरै गाउँ शोकाकुल छ
छोरो हिजोमात्रै फर्कियो परदेशबाट कफिनमा।।

(शब्दार्थ: दलिन = घरको मुल ढोका)

© दिपेनजी हमाल ‘DS Deepit’
वीरेन्द्रनगर-३, सुर्खेत, कर्णाली प्रदेश, नेपाल
हाल दक्षिण कोरिया

प्रकाशित मितिः शनिबार, माघ १२, २०७५     8:21:03 AM  |

प्रतिक्रया दिनुहोस्