23 September 2019  |   सोमवार, अशोज ६, २०७६

माघ २१ गते सोमबार सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने कांग्रेसको निर्णय

    | प्रकाशित मितिः आइतवार, माघ १३, २०७५  

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले माघ २१ गते सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले ७७ जिल्लामा आन्दोलन चर्काउने निर्णय गरेको हो ।

आफ्नो विरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित गरेको तथा पार्टीका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले खबरदारी गर्ने निर्णय गरेको हो ।

पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एकसाथ प्रर्दशन गरिने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

कांग्रेसले निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, प्रमुख प्रतिपक्ष दलका नेताको अनुस्थितिमै संवैधानिक परिषदको बैठक बोलाएर निर्णय गरेको लगायत विषयप्रति आपत्ति जनाउँदै सरकारको आलोचना गर्दै आएको छ । बैठकले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

प्रवक्ता शर्माले डा. केसीको जीवन रक्षाका लागि पहल गर्न सरकारलाई सचेत गराइएको बताए । उनले विमानस्थलबाट फर्कने क्रममा प्रधानमन्त्री ओलीले केही व्यक्तिको असन्तुष्टि भन्दै डा. केसीलाई दिएको जवाफ गैर जिम्मेवारी भएको टिप्पणी गरेका थिए ।

प्रकाशित मितिः आइतवार, माघ १३, २०७५     8:55:37 PM  |

प्रतिक्रया दिनुहोस्