23 September 2019  |   सोमवार, अशोज ६, २०७६

भेनेजुएलाका ‘अन्तरिम राष्ट्रपति’ गुआइडोलाई भ्रमण निषेध, बैंक खाता पनि रोक्का

    | प्रकाशित मितिः बुधबार, माघ १६, २०७५  

काठमाडौ । भेनेजुएलाको सर्वोच्च अदालतले विपक्षी नेता जुआन गुआइडोलाई देश छोड्न प्रतिबन्ध लगाउनुका साथै बैंक खाता समेत रोक्का गरेको छ ।

गएको साता विपक्षी नेता गुआइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । उनलाई अमेरिका लगायतका राष्ट्रले समर्थन गरेका छन् भने राष्ट्रपति निकोलास मादुरोलाई रसिया लगायतका केही राष्ट्रको साथ रहेको छ । अमेरिकाले भेनेजुएलाको संकट समाधानका लागि सैनिक हस्तक्षेप समेतका सबै विकल्प खुला रहेको बताउँदै आएको छ ।

१० जनवरीमा मादुरोले आफ्नो दोस्रो कार्यकाल शुरु गरेपछि देशैभरी विरोध प्रदर्शन भइरहेको छ ।  संयुक्त राष्ट्र संघका अनुसार यही जनवरी २१ यता मात्रै करिब ४० जना मानिस मारिनुका साथै सयौं मानिस गिरफ्तार भएका छन् ।
राष्ट्रपति मादुरोप्रति बफादार रहेको सर्वोच्च अदालतमा अभियोजकको कार्यालयद्वारा गुआइडोप्रति सतर्क रहनुपर्ने भन्दै प्रस्तुत गरेको अभियोजनलाई स्वीकृती मिलेको  हो ।

देशमा शान्ति स्थापनाका लागि उनले गरेको अवरोधका कारण उनलाई कतैपनि जान नदिने प्रस्ताव त्यसमा थियो ।  गुआइडोले भने सर्वोच्चको सो आदेश कुनै नयाँ कुरा नभएको बताएका छन् । अमेरिकाले अमेरिकामा रहेको भेनेजुएलाको बैंक खाता आफूले गुआइडोलाई हस्तान्तरण गर्ने भनेको केही बेरमा नै त्यहाँको सर्बोच्च अदालतले सो आदेश दिएको हो ।

प्रकाशित मितिः बुधबार, माघ १६, २०७५     11:26:42 AM  |

प्रतिक्रया दिनुहोस्