14 October 2019  |   सोमवार, अशोज २७, २०७६

सरकारविरुद्धको देशव्यापी प्रदर्शन सशक्त बनाइँदै

    | प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध माघ २१ गते गर्न लागेको देशव्यापी विरोध प्रदर्शनलाई प्रभावकारी बनाउन तयारीलाई तीव्रता दिएको छ।

आफ्ना दुई पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको स्वास्थ्य संस्थालाई संघअन्तर्गत नै राख्ने निर्णय गरेपछि कांग्रेसको आन्दोलन फितलो हुने सत्ता पक्षले आकलन गरिरहेका बेला कांग्रेसले विरोध प्रदर्शनलाई थप प्रभावकारी बनाउने गरी तयारी तीव्र पारेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी माघ २१ को देशव्यापी विरोध प्रदर्शनलाई प्रभावकारी बनाउनका लागि ७७ वटै जिल्लामा तयारी भइरहेको जानकारी दिनुभएको हो।

अनशनरत डा। गोविन्द केसीको मागप्रति सरकार संवेदनशील नभएको भन्दै विरोध गर्दै आएको कांग्रेसले आफ्ना दुई पूर्वसभापतिहरूको नाममा रहेको स्वास्थ्य संस्था जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई सरकारले नामेट गर्ने दुष्प्रयास गरेको भन्दै सदनसमेत अवरुद्ध बनाउँदै आएको थियो। देशव्यापी विरोध कार्यक्रमको तयारी गरिरहेको कांग्रेसले सदन अवरुद्ध गर्ने कि नगर्ने भन्ने बारेमा भने निर्णय लिइसकेको छैन।

माघ २१ को देशव्यापी विरोध प्रदर्शन महँगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयविरुद्ध भएको बताउँदै आएको कांग्रेसले वाइडबडी जहाज खरिदमा भएको अर्बौंको घोटालाका बारे गम्भीर ढंगले गहिरो छानबिन गर्न संसद्मा र सार्वजनिकरूपमा आवाज उठाउँदै आएको भन्दै प्रवक्ता शर्माले भन्नुभयो– ‘माघ २१ को विरोध प्रदर्शनमार्फत यसका लागि थप दबाब सृजना गरिनेछ।’ वाइडबडी भ्रष्टाचार प्रकरणमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि संलग्नता रहेकाले कांग्रेसले यो मुद्धा उठाउन छोड्यो भनी सत्तापक्षका कार्यकर्ताले आलोचना गरिहेका बेला कांग्रेस प्रवक्ता शर्मा भ्रष्टाचारी जो भए पनि कारबाही हुनुपर्ने भन्दै गम्भीररूपमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुहुन्छ।

माघ २१ को विरोध प्रदर्शनमा नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको बूढीगण्डकी बहुउद्देश्यीय परियोजना बिनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछाडि रहस्य लुकेको छ भन्ने बारेमा आवाज उठाउने उहाँले बताउनुभयो।-नेपाल समाचारपत्र

 

प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५     7:29:49 AM  |

प्रतिक्रया दिनुहोस्