24 August 2019  |   शनिबार, भदौ ७, २०७६

सशस्त्रका पूर्व एसएसपी मिश्र भ्रष्टाचारी ठहर, ६३ लाख विगोसहित डेढ वर्ष कैद सजायको फैसला

    | प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५  

काठमाडौं । विशेष अदालतले सशस्त्र प्रहरीका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोपाल मिश्रलाई सामान खरिद प्रकरणमा दोषी ठहर गरेको छ । सामान खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले उनीमाथि ६३ लाख १६ हजार ८ सय ९६ रुपैयाँ ४६ पैसा विगोसहित डेढ वर्ष कैद सजायको फैसला गरेको छ ।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले बिहीबार सुनुवाई गर्दै सामान घोटाला प्रकरणमा दोषी देखिएको भन्दै भ्रष्टाचारी ठहर गरेको हो ।

तत्कालीन एसएसपी मिश्रबाट नेपाल सरकारलाई घाटा पु¥याउने काम गरेको भन्दै ४२ लाख ११ हजार ८ सय ६४ रुपैयाँ ३० पैसा थप असुल गर्न र निजामती कर्मचारी भएर पदीय दुरुपयोग गरेको आरोपमा ३१ लाख ५८ हजार ४ सय ४८ रुपैयाँ २३ पैसा थप जरिवाना हुने विशेष अदालतले फैसला गरेको छ । साथै सामान खरिद प्रकरणमा दोष्नी देखिएका सशस्त्र प्रहरी निरीक्षक चित्रबहादुर केसीलाई पनि ६३ लाख १६ हजार ८ सय ९६ रुपैयाँ ४६ पैसासहित ६ महिना कैद हुने फैसला गरेको छ ।

त्यस्तै अदालतले सामान घोटालामा सहयोग गर्ने जेज ट्रेडिङ एण्ड इन्टरप्राइजेजका सञ्चालक राजु रावलसँग १ करोड २६ लाख ३३ हजार ७ सय ९२ रुपैयाँ ९२ पैसा जरिवाना हुने फैसला गरेको छ । त्यस्तै कागजात तयार गर्न सहयोग गर्ने प्रहरी हबल्दार नैनबहादुर वलीलाई ३१ लाख ५८ हजार ४ सय ४८ रुपयाँ ३३ पैसा सहित ६ महिना कैद हुने फैसला गरेकोे छ ।

मिश्र १ माघ २०७१ देखि ३० माघ २०७२ सम्म सशस्त्र प्रहरी बल नौवस्ता बाँकेमा कार्यालय प्रमुखको हैसियतमा रहँदा गोप्य रुपमा किर्ते खरिद बोर्ड गठन गरी फर्जी बिल भर्पाई बनाई कम परिणामको कन्सर्टिना वायर खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । कम परिणामको सामानलाई खरिदमा दररेट भन्दा बढी मूल्य बढाई भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो ।

मिश्रकै निर्देशनमा सशस्त्र प्रहरी बलका निरीक्षक चित्रबहादुर केसीले स्काई वेब इन्टरनेशनल, वर्षा ईन्टरनेशनल र जेज ट्रेडिङ एण्ड इन्टरप्राइजेजका सञ्चालक राजु रावलसँग मिलेमतो गरी सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ कानुनी प्रावधानसमेत पुरा नगरी नक्कली दस्तखतबाट झुटो प्रतिवेदन कागज बनाई सामान टेन्डरमा घोटला गरेको भन्दै १ करोड ६६ लाख रुपयाँ बिगो सहित तिनै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ भदौ २०७३ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।-rajdhanidaily

प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५     9:42:55 PM  |

प्रतिक्रया दिनुहोस्