21 August 2019  |   बुधबार, भदौ ४, २०७६

टीकापुर घटना; अदालतद्वारा ४४ जनालाई उपस्थित गराउन आदेश

    | प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५  

धनगढी। जिल्ला अदालत कैलालीले टीकापुर घटनाका वादी पक्षका ४४ जनालाई बकपत्रको लागि उपस्थित गराउन पुनः आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतबाट सांसद रेशम चौधरीको मिसिल आएपछि विहिबार जिल्ला अदालत कैलालीका न्यायधिश पर्शुराम भट्टराईको एक इजलाशले सो मुद्धाको सुनुवाई गर्दै आदेश जारी गरेको हो ।

अदालतका शाखा अधिकृत नरबहादुर नेगीले मुद्धाको जाहेरवालालगायतको मौकामा कागज गर्ने, वस्तुस्थिति मुचुल्कामा कागज गर्ने व्यक्तिहरुको बकपत्र लिन बाँकी रहेकोले उपस्थितिको लागि आदेश जारी भएको जानकारी दिए ।२१ दिन भित्र अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई आदेश जारी गरिएको हो । तर माघ २७ गते बकपत्र गराउने मिति तय भएको पनि शाखा अधिकृत नेगीको भनाई छ ।

उनका अनुसार ९ जना जाहेरवाला, २३ जना मौकामा कागज गर्ने र १२ जना वस्तुस्थिति मुचुल्कामा कागज गर्ने व्यक्तिहरुलाई उपस्थित गराउन आदेश जारी गरिएको छ । यो भन्दा पहिले पनि बकपत्रको लागि उपस्थित हुन आदेश जारीको अदालतले पुनः आदेश गरेको हो ।

माघ २७ गते बकपत्रको लागि ती व्यक्तिहहरु उपस्थित नभए पनि थप पेशीको प्रक्रिया अगाडी बढ्ने जनाइएको छ । सर्वोच्च अदालतबाट सांसद रेशम चौधरीका सक्कल मिसिल नआएपछि मुद्धाको सुनुवाईमा ढिलाई हुँदै आएको थियो ।

माघ ४ गते मिसिल पुगेपछि अब पेशीको कार्यले गति लिने जनाइएको छ । थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते ८ प्रहरीसहित १ नाबालकको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो ।

जुन घटनाको अभियोगमा पक्राउ परेका सांसद रेशम चौधरी, थारु नेता लक्ष्मण थारु, लाहुराम चौधरीसहित २७ जना हाल हाल पुर्पक्षको लागि कारागारमा रहेका छन् । उनीहरु विरुद्ध अदालतमा डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्धा विचाराधिन छ ।

प्रकाशित मितिः बिहिबार, माघ १७, २०७५     9:46:33 PM  |

प्रतिक्रया दिनुहोस्