28 January 2020  |   मङ्लबार, माघ १४, २०७६

मालपोतमा अनियमितता र ढिलासुस्ती सुधार गर्न ‘स्मार्ट सिस्टम’

    | प्रकाशित मितिः शनिबार, माघ १९, २०७५  

काठमाडाैं । सरकारी कार्यालयमध्ये बढी अनियमितता हुने र सेवाग्राहीको गुनासो आउनेमा मालपोत कार्यालय अग्रभागमा पर्छ । कैयौँ मालपोत कार्यालयका कर्मचारी घुस लिँदालिँदै अख्तियारको फन्दामा परेका उदाहरण धेरै छन् । जग्गाको कारोबार हुने मालपोतमा हुने अनियमितता र ढिलासुस्ती अन्त्य गर्न सरकारले ‘स्मार्ट सिस्टम’ सुरु गरेको छ । मालपोत सुधार्न योजना नै बनाएर पाँचवटा प्रयास गरिरहेको छ । 

लेखापढी व्यवसायीको सहयोगविना सेवाग्राहीले जग्गा कारोबार गर्नै नसक्ने स्थिति हटाउन मन्त्रालयले सरलीकृत फाराम प्रणाली कार्यान्वयनमा ल्याएको छ । अनलाइन प्रणाली विकास भएका कार्यालयमा सरलीकृत फाराम प्रणाली प्रयोगमा ल्याइसकेको विभागले जनाएको छ । ती कार्यालयको वेबसाइट र विभागको वेबसाइटमा फाराम उपलब्ध छ । फाराम डाउनलोड गरेर घरमै भरेर कार्यालय जाँदा सजिलो हुने विभागको सुझाब छ । चालू आर्थिक वर्षभित्र देशभरका कार्यालयमा लागू गर्ने लक्ष्य मन्त्रालयको छ ।

अनलाइन प्रणालीसँगै मालपोत कार्यालयमा केन्द्रबाटै निगरानी हुने गरी सिसिक्यामेरा राख्ने प्रणाली विकास गर्दै छ । जग्गासम्बन्धी पुराना कागजपत्र, प्रमाण हराउने, आगलागी हुनेजस्ता समस्याको अन्त्यका लागि भन्दै भूमिसुधार तथा मालपोत विभागले भूमि डिजिटलाइजको काम गरिरहेको छ । भूमि डिजिटलाइजमा जग्गाको स्रेस्ता, नक्सा, जग्गाधनीजस्ता सम्पूर्ण विवरण हुनेछन् ।

मालपोतमा भ्रष्टाचार रोक्न र तथ्यांक व्यवस्थित गर्न भूमिसुधार तथा नापी विभागले सबै कार्यालयलाई अनलाइन प्रणालीबाट सञ्चालन गर्न थालेको छ । कार्यालयमा खोजेको वेला आवश्यक कागजात नभेटिने, प्रमाणहरू नष्ट हुने र गलत कारोबार हुँदै आएका गुनासा छन् । यी विकृति रोक्न विभागले चालू आर्थिक वर्षभित्रै सेवाग्राहीको धेरै भिडभाड हुने एक सय ८ कार्यालयलाई अनलाइन प्रणालीमा सञ्चालन गर्ने लक्ष्य राखेको छ । देशभर कुल एक सय ३१ मालपोत कार्यालय छन् । -naya patrika

प्रकाशित मितिः शनिबार, माघ १९, २०७५     7:20:27 AM  |

प्रतिक्रया दिनुहोस्