18 February 2019  |   सोमवार, फाल्गुन ६, २०७५

युवराज पारसको घाईते मुटुले टिकाको हृदयको पिडालाई स्पर्श गर्दा …..

    | प्रकाशित मितिः शनिबार, माघ १९, २०७५  

सोम विक्रम सिंह
हार्ट अट्याकमा पनि ह्याट्रिक, त्यही पनि अनुहारमा कुनै पिर , मर्का,दुख केही आभास नभेटिने । मनभरी ,गह ,दुख लिएर युवराज पारसलाई भेट्न जाने अागन्तुकहरू बिरामी झैं न्यास्रो तथा बिरामी झैँ देखिन्थे भने बिरामीको बेडमा बसेका युवराज पारस भने तन्दुरुस्त देखिन्थे ।, मानौ उनी अस्पतालमा छुट्टी  मनाउन गएका हुन् ।

ऐतिहासिक मन्दिर नै मन्दिर भएको ठाउँ पाटन दरवार स्क्वाएरको मन्दिरमा पुजा अर्चना सकिए पछि फर्किने क्रममा उनले आफ्ना हितैषीसँग स्वास्थ्य बारे छलफल गरेका थिए । उनलाई पुर्वको भ्रमण केही महिना हुने हुँदा एक फेर पूरा शरीरको जाँच गरेर मात्रै बुधबर हिंड्नु पर्छ भन्ने सुझाव दिएका थिए । तर युवराज पारस आफुलाई केही हुँदैन भन्ने कुरामा ढिपी गर्ने प्रकारका व्यक्ति हुन् ।

युवराज पारसको एउटा बानी अचम्म लाग्दो छ, उनले औषधी छोडेर बसेका धेरै भैसकेको थियो । उनलाई यो बारे प्रश्न गर्दा होईन मेरो शरिरले पचाउन सक्छ कि सक्दैन भनेर यसो हेरेको भन्थे । औषधी सिद्धिएको भए किनेर ल्याउन पर्यो भनी प्रस्ताव गर्दा होईन बहिनीले किनेर ल्याउँछ , चिन्ता गर्न पर्दैन भन्थे । पाटनको कार्यक्रमको एकदिन अगाडी उनले खसिको मासु खाएका रहेछन् । मुटुको बिरामीको लागि रेड मिट बिष समान हो । तर उनी त्यति मासुमा बल गर्ने खाले होईनन् , धेरै समय त उनी शाकाहारी भएर पनि बसे । उनलाई मन पर्ने तरकारीमा च्याउ र आलु हो । खोई किन खसिको मासु चाखेछन् ? कार्यक्रमको दिन उनलाई झमझम रिंगटा लागिरहेको थियो रे , त्यस बारे उनले बेलैमा जानकारी दिएका भए साधारण स्वास्थ्य उपचारले ठिक भएर घर फर्किन्थे होला । तर उनका जिद्विपनको अगाडि केही नलाग्ने ।

कार्यक्रम पश्चात् उनलाई उनका साथीले युवराज पारसको फुपूको घरमा भेटघाटको लागि छोडेर हिंडे । तर अकस्मात त्यहा कुराकानीमा व्यस्त भएको बखत नै असहज भएको महशुस भई हत्त न पत्त अस्पताल लग्ने काम भएछ र तुरून्त नै उनको सफल शल्यक्रिया भयो । अप्रेशन भएको केही घण्टामै उनी सुप खान थालेछन् र अब म ठिक भएँ चिन्ता नगर्नु , हामी दस दिनमा पुर्वको भ्रमणमा जानपर्छ । केही दिनको लागि स्थगित गर भनेर खबर पठाए । हे अचम्म उनलाई आफैलाई केही नभएको तर जनताले कार्यक्रममा बोलाएकोले जान नपाएकोमा दुखित भएका झैँ देखिन्थे ।

अस्पतालबाट जाने बेला पनि उनले आफ्नो जिवनलाई हलुको रूपमा लिएको देख्दा उनको उपचरार्थ डाक्टरहरूले यस्तै हो भने हामी घर जान कदापि दिन्नौं भनी सम्झाएका थिए । उनी पनि हुन्छ हुन्छ अब म बच्चा जस्तै ज्ञानी हुन्छु , औषधी लिन्छु भनी डाक्टरलाई बिश्वास दिलाउनमा सफल भएका थिए ।

सबैभन्दा अचम्म उनी कुनै प्रकारले आफ्नो चिन्ता नलिनै व्यक्तिमा पर्दछन् । उनको आत्मबिश्वास तथा आत्मवल देखेर जो कोहि पनि नतमस्तक नभई रहदैनन् । उनी देशको र माटो कुरा गरे भने घण्टौ चिन्तन गरेर बस्ने ब्यक्ति मध्ये पर्छन् । उनलाई अस्पताल बसुन्जेल पनि भेट्न आउने मान्छेलाई म भेट्छु भन है भन्दै खबर पठाई रहन्थे । त्यसै गरि पुर्व भ्रमणमा जानको लागि तयार पार्नु पर्ने कर्मनिष्ठ सन्देश किताब तयार भए नभएको जानकारी लिई रहन्थे । उनको मुटुले जति चोट भोगे पनि उनी दयालुमा हदै छन् ।

उनको जनावर प्रतिको प्रेम हेर्ने हो भने जो कोहि छक्क पर्छन् । उनी अद्भुद व्यक्तित्व भएका प्राणी हुन् जसको जानकारी कमै मानीसलाई मात्र थाहा छ । उनी धर्मकर्ममा ध्यान दिने , सोमवारको व्रत लिने , रक्सि खाने व्यक्ति नरूचाउने र रक्सि खाएर कोहि मानिस अगाडी परे रिसाई हाल्ने खालका छन् । तर उनका बारे रक्सि र मासुमा डुवेर तथानाम लेख्नेहरू देख्दा जत्रो बुद्वि त्यति नै कर्म हो भन्ने लाग्छ ।

युवराज पारस साँच्चिकै भन्ने हो भने साँच्चिकै लज्जालु र मायालु छन् । उनी जनावारलाई पनि कति माया गर्छन् भने उहाँ सँगसँगै हिँड्दा थाहा लाग्छ । उनीसँग हिंड्दा कोहि सहयोगिले बाटोको भुसिया कुकूरलाई हटाउन लागेको देखे भने नगर , नहटाउ भन्छन् । कसैले यसो बलजफ्ती हटाए भने अलि रूखो भएर किन त्यस्तो गरेको भन्ने प्रश्न गरिहाल्छन् । अचम्मको कुरा त धनगढीमा बसाईको बेला एउटा भुसिया कुकुर भिज्दै भिज्दै युवराज पारससँग गएका ब्यक्तिहरूको पछि लागेर अायो ।

युवराज पारस  आफ्ना सहयोगीहरू बस्ने ठाउँमा टुप्लुक्क आईपुगे । कुकर पनि युवराजलाई स्वागत गर्न उनी भएका ठाउँमा पुच्छर हल्लाउँदै पुगे । युवराजले कुकुर भिजेको देखेर आफु बस्ने सोफामा राख्दै टालो ल्याएर पुच्छिदिन थाले । यसैले दर्शाउँदैन त उनको जनावर प्रतिको माया । उनी शुक्लाफाँटामा घुम्न जाँदा चित्तलको झुण्ड उनी छेउ आई उनिसँग भलाकुसारी गरे झैँ गरि वरिपरि खेल्न थाले । सेल्फि लिन आएको झैँ गरि युवराजसँग टाँस्सिएर फोटो खिचीवरि , जव युवराज आफ्नो गन्तव्यमा लागे पछि चित्तलको बथान पनि त्यहाँबाट ओझेल भए ।

कहिले त लाग्छ उनी एक पागल प्रेमी झैँ जनावर प्रति माया दर्शाउँछन् । उनी मृगस्थली कर्मनिष्ठको प्रशिक्षण कार्यक्रममा गएका बेला त्यहाँ बाँदर उनीसँग भएका ठाउँमा गएर पोज दिएर सेल्फि खिच्दे त भने झैं गरि बसे । त्यसको फाईदा पत्रकारलाई भईहाल्यो जुन फोटो एकदमै भाईरल भईदियो । उनी निर्दयी मान्छेलाई त्यति रूचाउँदैनन् र हतपत स्विकार पनि गर्दैन ।

कसैले सहयोगको याचना गरिहाले पनि आफ्नो अवस्थाले गर्न सकेनन् भने दिक्क मान्छन् तर त्यो कुरा मनमा राखि राख्छन् । सायद सोच्छन् होला आफु एकदिन सबैको दुखकष्ट निवारण गर्ने स्थानमा पुग्छु भनेर त्यसैले त्यसता कुरा आफ्नो साथी सहयोगीसँग कोट्टाई रहन्छन् ।

हुन पनि उनले कालिञ्चोक गएको बेला भेटेको सानी नानी टीकाको अबस्था देख्दा उनी साह्रै निरास भएका थिए । उनको दुवै खुट्टाको तल्लो भाग र हातका पनि औलाहरू थिएनन् । उनको दृश्य देखेर युवराज पारसमा जुन नैरश्यता छाएको थियो त्यो युवराज पारसको सकृयतामा नक्कली खुट्टा हाले पछि मन शान्ति भएको भान हुन्थ्यो । त्यो परिवार जति खुसि भए होलान् आफ्नो बच्ची हिंडडुल गरेको देखेर , त्यतिकै खुसि भए युवराज पारस टीका हिडेर स्कुल जान थालिन् भन्ने समाचार सुनेर । हुन पनि जो कोहिले युवराज पारसलाई भेटेपछि मात्र उनीहरूको समाचारमा बुझे जस्तो चरित्र होईन रहेछ भन्ने मनन गर्छन् र रक्सि र मासुमा चुर्लुम्म डुवेर समाचार लेख्नेलाई सराप्न थाल्छन् । तर कसै कसैलाई खान पच्दैन रे युवराज पारसको खेदो नखिकन, हुन त अहिले समय नै नकरात्मक पक्षधरको छ ।

देशमा त्यसैको तन्त्र छ,त्यसैको राज्य छ जसले यो धर्ती माता लाई छिया छिया बनाईरहेको छ, तहसनहस बनाईरहेको छ, देशको माटो बेचिरहेको छ । सज्जन र राम्रा मान्छेको यहाँ केहि मान सम्मान छैन ,समय राम्राका छैन , बुझ्न यहि पर्छ । घटना र परिघटना हेरे यथार्थ छर्लङ्ग हुन्छ , व्याख्या त्यति गरिरहन पर्दैन । नकरात्मक सन्देश र समाचार खोज्नेले यति पनि प्रश्न खोज्ने प्रयत्न गरेन । किन एक्लो छोरा युवराज पारस अस्पतालमा छट्पटाई रहँदा राज्यले आमा रानी कोमललाई काठमाडौं तुरून्त लिएर आउने प्रबन्ध मिलाउने प्रयत्न गरेन ?

गणतान्त्रिकको लागि राजसंस्था पुर्व भएता पनि एउटा भिभिआईपि गर्ने व्यवहार गरेन ? आफुलाई ह्याछिउँ आउँदा बिदेश उड्ने नेताहरूले साधारण ब्यबस्था गर्न सक्थ्यो । राति उड्नको लागि नाईट भिजन नेपाली सेनासँग त थियो , तर राज्यले त्यस तर्फ नजरअन्दाज गरिदियो । आफु पनि शरिरमा गोली लिएर हिंडेका रानी कोमल रातारात गाडीबाट काठमाडौं आउन पर्यो भने राजा ज्ञानेन्द्र आफ्नो एक्लो छोरा भेट्न आउन सकेनन् ।

जनताको आतिथ्यमा सिमरा पुगेका राजा ज्ञानेन्द्र जनताको माझ पुगे पछि बहाना बनाएर आउन सकेनन् । बिचरा बिरामी छोरालाई भेट्न नसकेको बेदना राजा ज्ञानेन्द्रले सामाजिक सञ्जालमा कविता लेखेर पोखे । यता छोरीहरू र युवराज्ञी हिमानी पनि काठमाडौं अवतरण हुन सकेनन् । भर्खरै छोरीहरूलाई भर्ना गरि बसोबास र पढाईको ब्यबस्था गर्न नभ्याउँदै दुखद समाचार आयएता पनि नआत्तिन शाही परिवारको सुझाव अनुरूप उतै रूक्न बाध्य पार्यो ।

हुन पनि युवराज पारसको जुन आत्मावल र मनोवल छ त्यसले गर्दा आफ्ना प्राण भन्दा प्यारी छोरी तथा श्रीमतीलाई ढाडस मिल्यो र बिरामी भेट्न उच्च आकंक्षा हुँदाहुँदै पनि बाध्य भएर उतै बस्न पर्यो । कमलादी स्थित फुपुको घरमा सबै ब्यबस्था हुने भएकोले र हस्पिटल नजिक हुने भएकोले युवराज पारसलाई त्यहाँ बस्ने व्यबस्था मिलाएको हुनाले त्यहाँ राखिएको हो तर लेख्ने तोर्पेहरूलाई के के न भएको जस्तो अनाबश्यक तर्क गर्ने बहाना मिल्यो । तर लेख्नेलाई खुराक मिल्यो फलाना ढिस्काना खोइ भन्ने तिर लागे एक्लो बिरामी छोरा पारसलाई भेट्न सरकारले के प्रबन्ध गर्यो भन्ने तिर समाचार बनाउन त्यति उचित ठानेनन् , नैतिक पतन भएको बेला कुसमाचार तथा लेख मात्रै बन्छ ।

युवराज पारसलाई उचित खानपान र विशेष गरेर औषधीमा हेलचक्राई नगर्न डाक्टरद्वारा बिनम्र अाग्रह गरिएको छ । शुभचिन्तकहरू पनि उनको औषधी खान नखोज्ने लापरवाही प्रति आजित छन् । युवराज पारसको खानपिन त धेरै सादकि छ । उनी पिरो रूचाउँदैनन् , मासु प्रति उनको त्यसतो मोह देखिदैन , धेरै शाकाहारी भोजन नै गर्छन् र फलफुल अति नै खान पर्छ । खानामा फलफुल मात्रै भए पनि औधी खुसि हुन्छन् । दशा बाजा बजाएर आउँदैन भने झैँ औषधी खान छोड्या बेला खसिको मासु बिरामी हुने बहाना भईदियो ।

पिउनेमा कफि धेरै पिउन कम गरेर दुधको सेवन गरे उत्तम हुन्थ्यो भनी उनका शुभ चिन्तक सुझाव दिन्छन् । तर उनले यसपाली औषधीमा हेलचेक्राई नगर्ने,औषधी नियमित सेवन गर्ने र स्वास्थ्यमा ध्यान दिन्छु भनी डाक्टरहरूसंग बाचा गरेका हुनाले राम्रै आशा गर्न सकिन्छ । उनले जनतासँग देश दर्शन गर्ने बाचा र जनताको माझमा आई राष्ट्र र राष्ट्रियता प्रति प्रतिबद्ध तथा कटिबद्ध भई कर्मनिष्ठको साथ जनतासँग रहन्छु भन्ने बाचा केही समयको लागि स्थगन भएको छ ।

यद्वपी उनको बालहठ छ , चाँडै जान पर्छ भन्ने तर उनले यो बुझ्न पर्छ आफु स्वस्थ्य भए सबै कुरा सहज हुन्छ । हुनत उनलाई यस बारे उनका साथी भाइ , परिवार तथा शुभचिन्तकले सहि सल्लाह दिनेनै छन् । उनको अभियान तथा उनको सामाजिक कृयाकलाप अगाडी बढुन् , उनी दुखि गरिबीको सदा साथमा होउन् र यो राष्ट्र तथा राष्ट्रियताको लागि सदैव नेतृत्व गरिरहुन् । उनलाई भगवान श्री पशुपतिनाथ , गुरु गोरक्षनाथ तथा गोरखकालीले सदैव रक्षा गरून् । यहि भन्दै उनको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दै प्रार्थना गर्दछु । जय देश जय नरेश ।

प्रकाशित मितिः शनिबार, माघ १९, २०७५     8:08:10 PM  |

प्रतिक्रया दिनुहोस्