25 January 2020  |   शनिबार, माघ ११, २०७६

आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्छ -प्रधानमन्त्री ओली

    | प्रकाशित मितिः आइतवार, माघ २०, २०७५  

सिरहा  । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा वृद्धभत्ता बढ्ने बताएका छन् । सहिद हेमनारायण यादवको १५औँ स्मृतिसभालाई सिरहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वृद्धवृद्धाको हितका लागि सरकार सकारात्मक रहेको बताए । 

देउवा नेतृत्वको सरकारले देशको ढुकुटी रित्तो पारेकाले अघिल्लो आर्थिक वर्षमा वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको दाबी छ । ‘वृद्धभत्ता बढेन भनेर निराश हुनुपर्ने अब धेरै दिन छैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘आउने आर्थिक वर्षमा सरकारले  अवश्य बढाउनेछ ।’

प्रधानमन्त्री ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताए । मधेसका विषयमा चलाइएका अतिरञ्चित हल्लाको जवाफ काम गरेर दिने प्रधानमन्त्रीले बताए । ‘मधेसका बारेमा अनेक हल्ला चलाइएका छन् । तर, सरकारको कामले ती सबैको जवाफ दिन्छ,’ प्रधानमन्त्रीले भने, ‘हुलाकी सडकको निर्माण, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएका हुन् । केही दिनअघि झापा विमानस्थलमा रात्रिकालीन उडान सेवा सुरु भएको छ । जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हुँदै छ ।’

प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्रुतमार्ग, निजगढ विमानस्थल, कमला–मरिन डाइभर्सनबाट तराईलाई सिँचाइ गर्ने योजनाका काम धमाधम भइरहेको बताए । यसैगरी तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरूको स्तर वृद्धिका लागि धमाधम काम भइरहेको  उनले बताए ।

प्रकाशित मितिः आइतवार, माघ २०, २०७५     7:08:26 AM  |

प्रतिक्रया दिनुहोस्