विश्व क्यान्सर दिवस मनाइँदै,नेपालमा करीव ६५ हजार क्यान्सर रोगी

काठमाडौं । सोमबार विश्व क्यान्सर दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ तमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । म हुँ र म गर्छु भन्ने मुल नाराकासाथ यो वर्षको विश्व क्यान्सर दिवस मनाउन लागिएको हो ।

नेपालमा हाल जनसंख्याको आधारमा करीव ६५ हजार क्यान्सर रोगी छन् । विश्व स्वास्थ संगठनका अनुसार विश्वमा नसर्ने रोगको प्रकोप बढीरहेको छ । नसर्ने रोगमा क्यान्सर, मुटुरोग, मृगौला रोग, मधूमेह, उच्च रक्तचाप प्रमुख हुन् । यी रोग खानपान, रहनसहन, जीवनशैली र वातावरणका कारणले हुन्छ । क्यान्सर रोग विकशित मुलुकबाट अविकशित मुलुकमा देखा पर्दै गएको हो ।चिकित्सकले धुम्रपान तथा सूर्तिजन्य पदार्थको प्रयोग नै क्यान्सर रोगको प्रमुख कारण रहेको बताउँदै आएका छन् ।

विश्व स्वास्थ्य संगठनले करिब ४५ प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने, एक तिहाइ क्यान्सर उपचारबाट निको बनाउन सकिने र बाँकी बिरामीलाई पनि उपचारबाट आरामदायी आयु लम्ब्याउन सकिने जनाएको छ । तर यसका लागि समाजका सबै वर्गलाई परिचालन गरी क्यान्सर नियन्त्रणका प्रभावकारी उपाय अपनाउन आवश्यक छ ।

नेपालमा फोक्सो, पेट, आमासय, मुख, पाठेघरको मुख, प्रोस्टेट, स्तनको क्यान्सर बढी हुन्छ । त्यसमा पनि महिलामा पाठेघरको क्यान्सर र पुरूषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी छ । भक्तपुर क्यान्सर अस्पतालले दिएको जानकारी अनुसार गत वर्ष बहिरङ्ग सेवा ओपीडी०मा ७७ हजार बिरामी आएका मध्ये तीनहजार चारसय १२ जनामा क्यान्सर देखिएको थियो ।

विभिन्न अनुसन्धानले ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धूम्रपान, सूर्ति, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव रहेको देखाएको छ । १० प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक कारणले हुन्छ । यसका साथै विकिरण, ब्यवसायीक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, बंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरका कारणका रुपमा लिइएको छ ।

क्यान्सरका लक्षणहरूमा स्वर परिवर्तन हुनु, दुब्लाउदै जानु, शरीरमा गाँठागुठी वा गिर्खा देखिनु, भोक नलाग्नु, कोठी वा मुसाको आकार देखापर्नु, धकाई बढी लाग्नु , लामो समयसम्म घाउ निको नहुनु, लगातार खोकी लाग्नु, महिनावारी हंँदा रगत बढी जानु जस्ता लक्षण क्यान्सर रोगका लक्षण हुन् ।

 

 

प्रतिक्रया दिनुहोस्