सरकारले विद्युतीय बस सञ्चालनका लागि छिटै विज्ञ टोली गठन गर्ने

काठमाडौं। सार्वजनिक विद्युतीय बस सञ्चालनका लागि सरकारले छिटै नै विज्ञ टोली गठन गर्ने भएको छ । कस्ता बस उपयुक्त हुन्छन् भन्ने ‘इस्फेसिफिकेशन’ तयार गर्ने लगायत सञ्चालन प्रक्रियाका विषयमा काम गर्न विज्ञ टोली गठन गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बिद्युतीय बस खरिद तथा सञ्चालनको काम नेपालका लागि नयाँ र प्राविधिक कुरा भएकाले विज्ञ समूहको आवश्यकता रहेको जानकारी दिनुभयो ।मन्त्रालयले यातायात व्यवस्था विभागलाई विज्ञ टोली गठन सहितका प्रारम्भिक काम गर्न निर्देशन दिएको छ, तर विभागले नेपाल विद्युत प्राधिकरण, महानगरपालिकाहरु, अर्थ मन्त्रालय लगायतका सबै निकायसँग समन्वय गर्नुपर्ने भएकाले काम गर्न असजिलो हुने जानकारी मन्त्रालयलाई पठाएको छ ।

विभागसँग प्राविधिक पनि नभएको बताइएको छ । मन्त्रालयले सो काम विभागले नै गर्नुपर्ने प्रष्ट गरेको छ । मन्त्रालयलका प्रवक्ता शिवहरि सापकोटाले भन्नुभयो, ‘यो काम विभागले नै गर्नुपर्दछ । गुरुयोजना निर्माण, लागत आदिको काम भइरहेको छ । छिटै विज्ञ समूह बनाएर काम अगाडि बढ्छ ।’

सरकारले तीन सय वटा विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको छ । बिभागका महानिर्देशक लावन्यकुमार ढकालले ‘इस्पेसिफिकेशन’ बनाउने कामका लागि कार्यदल बनाउ लागिएको जानकारी दिनुभयो । कार्यदलले काम गरेपछि खरिद प्रक्रियामा जाने बताइएको छ । यातायात विकास प्राधिकरण बनाएर बिद्युतीय बस सञ्चालन गर्ने वा अरु कुनै निकायलाई जिम्मा लगाउने भन्ने कुराको टुङ्गो लागिसकेको छैन । मन्त्रालयका प्रवक्ता सापकोटाले यातायात प्राधिकरणको सैद्धान्तिक स्वीकृति भइसकेको बताउनुभयो ।

उपत्यकामा प्रदूषण रोक्न र इन्धनको खपत घटाउन बिद्युतीय बस सञ्चालन गर्न लागिएको हो । सरकारले पाँच वर्षमा २० प्रतिशत बिद्युतीय सवारी पु¥याउने लक्ष्यसहित बिद्युतीय बस खरिद गर्ने र २० स्थानमा चार्जिङ स्टेशन निर्माण पनि गर्ने निर्णय गरेको छ ।-gorkhapatra

प्रतिक्रया दिनुहोस्