आज तामाङ समुदायकाे नयाँ वर्ष : सोनाम ल्होछार,प्रदेश ३ मा सार्वजनिक बिदा

काठमाडौं । तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होछार। सोनम ल्होछार प्रत्येक वर्ष माघ शुक्ल प्रदिपदामा सुरु हुन्छ। ल्हो अर्थात् नयाँ। छार(सार) वर्ष। मञ्जुश्री पात्रोअनुसार कुकुर वर्ष पूरा भई मंगलबार सुंगुर वर्ष लागेको छ। यो २८५५औँ ल्होछार हो।

ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए। सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको ल्होछार मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले बताइन्। ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने जनाइएको छ।

सोनाम ल्होछार महोत्सवमा तामाङ जातिको खाना, वेषभूषा, कला संस्कृतिलगायत प्रदर्शन गरिने जनाइएको छ। मंगलबार दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ। यो अवसरमा प्रदेश ३ सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।

सोनाम ल्होछार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको उल्लेख गरेका छन्।  ‘नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो, यहाँ हरेक जातजातिका आ–आफ्नै परम्परा, चाडपर्व, वेशभूषा छन्’, उनले सन्देशमा भनेका छन्, ‘मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ।’ प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा बसोबास गर्ने तामाङ समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

सोनाम ल्होछारका अवसरमा शुभकामना सन्देश दिँदै काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विविधताले भरिएको नेपाली समाजमा गर्व गर्नलायक धार्मिक–सांस्कृतिक रीतिरिवाज र परम्परामध्ये सोनाम ल्होहार एक रहेको बताएका छन्। देउवाले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा ल्होछार कोशेढुङ्गा सावित भएको बताएका छन्।

 

प्रतिक्रया दिनुहोस्