22 April 2019  |   सोमवार, बैशाख ९, २०७६

धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक,प्रतियोगिता माघ २६ देखि फागुन ११ गतेसम्म संचालन हुने

    | प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५  

धनगढी। धनगढी प्रिमियर लिग (डिपिएल)को ट्रफी सार्वजनिक गरिएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले शुक्रबार पत्रकार सम्मेलनको गर्दै प्रतियोगिताको ट्रफी सार्वजनीक गरेको छ।

प्रतियोगिताका सद्भावना दुत जोन्टी रोड्स र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रुपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरे। ट्रफी सार्वजनिक कार्यक्रममा बालविवाह विरुद्धको अभियानमा पनि हस्ताक्षर गरिएको छ। सहभागी टिमका कप्तान र मालिकहरुले बालविवाह विरुद्धको अभियानमा हस्ताक्षर गरेका हुन्।

प्रतियोगिताको उद्घाटन अवसरमा १ पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १—१ लाख रुपैया प्रदान गरिने समेत आयोजकले जनाएको छ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा  प्रतियोगिता माघ २६ देखि फागुन ११ गतेसम्म संचालन हुनेछ। अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ।

टी –२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसंगको विजेतासंग फाइनल प्रवेशको लागि खेल्नेछ।

यस्तै आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत जनाएको छ। आयोजकले मैदान तथा प्राविधिक व्यवस्थापनका कामहरु लगभग सकिएको र ५ वटा पीच निर्माण सम्पन्न भईसकेको जनाएको छ। प्रतियोगिताका लागि ५ हजार दर्शक क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ। यस्तै आयोजकले दर्शकहरुका लागि टिकटदर लिग चरणमा ५०, प्ले—अफमा ७० र फाइनलमा १०० तोकेको छ।

प्रकाशित मितिः शुक्रबार, माघ २५, २०७५     9:03:44 PM  |

प्रतिक्रया दिनुहोस्