22 January 2020  |   बुधबार, माघ ८, २०७६

असइ बनाइदिन्छु भन्दै ७० हजार घुस

    | प्रकाशित मितिः आइतवार, माघ २७, २०७५  

काठमाडाैं ।नेपाल प्रहरीको असइ बनाइदिन्छु भन्दै घुस लिने तारकेश्वर काभ्रेस्थली–२ का नवराज भण्डारी पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार काभ्रेस्थलीबाटै पक्राउ गरेको हो । भण्डारीले धनुषाका उदयकान्त साहलाई प्रहरीको असइ बनाइदिन्छु भन्दै उनीसँग ७० हजार रुपैयाँ घुस लिएका थिए ।

साहको उजुरीपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भण्डारीले साहसँग दुई महिनाअघि ७० हजार घुस लिएका थिए, जुन एडभान्सबापतको रकम थियो । असइमा नाम निस्केपछि चार लाख ३० हजार रुपैयाँ लिने दुई पक्षबीच सहमति थियो । उनीहरूबीच पाँच लाख रुपैयाँको डिल भएको प्रहरीले जनाएको छ । तर, नाम ननिस्केपछि साहले भण्डारीसँग एड्भान्सबापत बुझाएको पैसा मागे । भण्डारीले दिन इन्कारले गरेपछि साहले प्रहरीमा उजुरी गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले पाँच लाखमा डिल भएको पाइएको बताए । ‘असइ बनाइदिन्छु भन्दै दुई पक्षबीच पाँच लाखको डिल भएको रहेछ । सोही सन्दर्भमा ७० हजार रुपैयाँ एड्भान्सस्वरूप दुई पक्षबीच लेनदेन भयो । बाँकी रकमचाहिँ नाम निस्केपछि लेनदेन गरिने सहमति थियो । तर, नाम निस्केन ।

साहले उजुरी गरेको उजुरीका अधारमा भण्डारी पक्राउ परे,’ उनले भने । प्रहरीका अनुसार भण्डारीले आफूलाई नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालका नजिकको मान्छे भनी परिचित गराउँथे । सोही आधारमा उनले विभिन्न प्रलोभन दिई सर्वसाधारणसँग रकम असुल्दै आएका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।  -नयाँ पत्रीका 

प्रकाशित मितिः आइतवार, माघ २७, २०७५     7:34:57 AM  |

प्रतिक्रया दिनुहोस्