26 January 2020  |   आइतवार, माघ १२, २०७६

हावाबाट पनि आम्दानी गर्न सकिन्छ–प्रम ओली

    | प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५  

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो १ वर्षे कार्यकालमा विपक्षीहरुले धेरै आलोचना गरे पनि जनताको पक्षमा दूरगामी महत्वका काम भएको बताउनुभएको छ । सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा बिहीबार सिंहदरवारमा आयोजित ‘वर्तमान सरकारको एक वर्ष, संघीयता, सुशासन र समृद्धिको आधार वर्ष’ विषयक कार्यक्रममा उहाँले यसबीचका प्रगतिले विश्व चकित भएको दाबी गर्नुभयो ।

संसदको बैठक नबोलाएको अवस्थामा गत साल फागुन ३ गते आवश्यक मत लिएर ओली राष्ट्रपतिको सिफारिसमा प्रधानमन्त्री बन्नुभएको थियो ।अस्थायी र ९ महिने सरकार हेर्ने बानी परेकालाई यो परिस्थिति नपचेको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो–‘अब सरकार फेरिदैँन, त्यसैले हेराई र आफ्नो बानी फेर्नुपर्छ, सरकार सबैसँग गहिरो मित्रता राख्दछ, कसैसँग पनि शत्रुता कायम राख्दैन ।

‘छिमेकी नीति र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति भएको र विश्वले सकारात्मक रुपमा लिएको बताउँदै उहाँले थप्नुभयो–नयाँ उद्योग स्थापना हुँदै गरेका छन्, विदेशी लगानीको वातावरण बन्दै आएको छ, विदेशिने नेपालीको संख्यामा ३९ दशमलव १ प्रतिशत कमी आएको छ, भूकम्पपछिको पुननिर्माणले गति लिएको छ ।’

प्रधानमन्त्री ओलीले यसबीचमा एयरपोर्टको अवस्थामा सुधार आएको, जनतामुखी कार्यक्रम सञ्चालन गरिएको, खानेपानीका ३ सय ९ वटा आयोजना थपिएको, आर्थिक बृद्धिदर बढेको, संघीयता कार्यान्वयना निकै ठूलो उपलब्धि हासिल गरेको, र लोकतन्त्रलाई बलियो बनाई भ्रष्टाचार नियन्त्रण गरिदै आएको पनि दावी गर्नुभयो ।

आफूले गरेका राम्रो काम पचाउन नसकेर विपक्षीले आलोचना गरेकोप्रति प्रश्न उठाउँदै उहाँले विगत एकवर्षमा विकासका आधार तय भएको र बाँकी ४ वर्षमा घोषित प्रतिवद्धता र योजनाहरु पूरा गरेर छोड्ने अठोट गर्नुभयो ।-नेपाल समाचारपत्र

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५     6:59:40 AM  |

प्रतिक्रया दिनुहोस्