पहिलोपटक राष्ट्रिय परिवार योजना सम्मेलन हुने

काठमाडौँ । परिवार नियोजनको पहुँचबाहिर रहेका आम नागरिकलाई सेवाको पहुँचभित्र ल्याउने उद्देश्यले पहिलोपटक राष्ट्रिय परिवार योजना सम्मेलन हुने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा राष्ट्रिय सम्मेलन हुन लागेको हो । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन मार्फत आगामी चैत ३ र ४ गते सम्मेलन हुन लागेको जानकारी दिएको हो ।

कार्यक्रममा परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख कविता अर्यालले सम्मेलनमा तीनसय बढीको सहभागिता हुने जानकारी दिनुभयो । उहाँले अझै पनि नेपालमा परिवार नियोजनको सेवाभन्दा बाहिर धेरै मानिस रहेकाले पहुँचमा ल्याउन सम्मेलन गर्नुपरेको बताउनुभयो । उहाँले ‘परिवार नियोजनको साधन प्रयोग गर्ने दर बढेर ५३ प्रतिशत पुगे पनि आधुनिक साधन प्रयोग दर ४३ प्रतिशत रहेको र यो सङ्ख्या केही बर्षदेखि स्थिर रहेको जानकारी दिनुभयो ।

परिवार योजनाको कार्यक्रम लक्षित बर्गसम्म अझै पुग्न नसकेको सङ्केत गर्दै उहाँले यही विषयमा छलफल गर्न कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । परिवार कल्याण महाशाखाका प्रमुख डा. आरपी विच्छाले सम्मेलनमा परिवार योजनासम्बन्धी सामुदायिक तथा संस्थागत रुपमा भएका रचानात्मक प्रयोग, विधि तथा अध्ययन अनुसन्धानबारे कार्यपत्रहरु प्रस्तुत हुने बताउनुभयो ।

प्रतिक्रया दिनुहोस्