६ महिनादेखि नेकपाको राष्ट्रिय अभियान अलपत्र, केन्द्रीय कमिटी बैठक ९ महिनासम्म बसेन्

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय अभियानको योजना ६ महिनादेखि अलपत्र परेको छ । असार र साउनभित्र एकीकरणका सबै काम टुंग्याएर भदौदेखि अभियान चलाउने छलफल केन्द्रीय सचिवालयमै भए पनि अलपत्र परेको छ । 

दसैँको सम्मुखमा कार्यकर्ता घर फर्किने भएकाले एकीकरणको सन्देश दिन उपयुक्त हुने भन्दै पार्टीले योजना बनाएको थियो । तर, एकीकरण प्रक्रिया नै धकेलिएपछि अन्य योजना ओझेलमा परेका छन् ।३ जेठमा पार्टी एकतापछि सबै तहमा एकीकरण टुंग्याउन चार तहको कार्यदल बनिसकेको छ । एकीकरणमा ढिलाइ भएपछि १२ पुसमा सम्पन्न स्थायी समिति बैठकमा नेतृत्वको आलोचना भएको थियो । आलोचना मत्थर पार्दै बैठकले माघ महिनाभित्रै एकीकरण सक्ने गरी ९ सदस्यीय कार्यदल बनाए पनि काम गर्न सकेन । संयोजक रामबहादुर थापा बादलले अपूरो प्रतिवेदन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

नेकपाको केन्द्रीय कमिटी बैठक नबसेको त ९ महिना भइसक्यो । पार्टीको अन्तरिम विधानमा ६ महिनाभित्र केन्द्रीय कमिटी बैठक बस्ने व्यवस्था भए पनि एकतायता औपचारिक बैठक बस्न सकेको छैन । एकीकरणलगत्तै १० जेठमा माइन्युटमा हस्ताक्षर गर्ने प्रयोजनका लागि केन्द्रीय कमिटी बैठक बोलाइए पनि केन्द्रीय सदस्यहरूले प्रस्तावित एजेन्डामा छलफलमा भाग लिन पाएका छैनन् । -नयाँ पत्रिका 

प्रतिक्रया दिनुहोस्