प्रतिपक्षको नजरमा सरकारको एकवर्ष: सबै विश्वास गुमायो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको एकवर्षे गतिविधिलाई विश्लेषण गर्दै सबै विश्वसनियता गुमाएको निष्कर्ष निकालेको छ । विश्वास गुमाएको पिता, ममता विर्सिएकी आमा, भर छुटेको प्रेमी, घर छुटेको बटुवा जस्तो भएर सरकारले एक वर्ष कुहिरोको काग जस्तो भएर विताएको कांग्रेसले आरोप लगाएको छ । एक वर्षको अवधिमा सरकारले विश्वास भत्काएर वेथितिको विजारोपण गरेको आरोप कांग्रेसले गलगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ष दिनमा सरकारले जगलाई बलियो बनाएको दाबी गरेको केहिदिनमै प्रतिपक्ष दल कांग्रेसले आइतवार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी सरकारले वर्षदिनमा गरेको कामको आलोचना गरेको हो ।

सरकारले विश्वास गुमाएको सन्दर्भमा सबैभन्दा पहिले कांग्रेसले मधेशी मुद्धालाई उठाएको छ । सरकारको एक वर्षमा मधेशको मुद्धा खण्डित भएको भन्दै कांग्रेसले संविधान संशोधन गर्ने विश्वासका साथ मधेश केन्द्रित दलहरुलाई सरकारमा सहभागी गराएको भएपनि सरकार गठन भएको एक वर्ष पुगिसक्दा पनि यसबारे कुनै प्रक्रिया अघि नबढाएको आरोप लगाएको छ ।

‘संविधान संशोधनको प्रस्ताव नेपाली कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा त्यसलाई राष्ट्रघातको संज्ञा दिने केपी ओलीले प्रधानमन्त्री बने भएपछि संशोधन आवश्यक छ भन्ने तर संसोधन नगर्ने सरकारको रबैयाको काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तीव्र आलोचना गर्नु भएको छ ।

सरकार गठन भएको वर्ष दिन पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा गरेको संवोधनमा प्रतिपक्षको आलोचना धेरै गर्नुभएका थियो । यसमा कांग्रेसले प्रधानमन्त्री ओलीले प्रतिक्षको आलोचना भन्दा आफैले आत्मालोचना गरेको भए राम्रो हुने थियो भन्दै सरकारको शान्ति, संविधान र निर्वाचन पछि इतिहासकै सबैभन्दा सहज र सुन्दर वर्षलाई सदुपयोग गर्न नसकेको आरोप कांग्रेसले लगाएको छ । – नेपाल सामाचारपत्र

प्रतिक्रया दिनुहोस्