25 January 2020  |   शनिबार, माघ ११, २०७६

पाठकलाई ११ वर्ष कैद र ७८ लाख बराबरको सम्पत्ति जफत हुनसक्छ

    | प्रकाशित मितिः मङ्लबार, फाल्गुन ७, २०७५  

काठमाडाैं । घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकमाथि अख्तियारले नै छानबिन गर्ने भएको छ । महान्यायाधिवक्ता कार्यालयले सोमबार पाठकमाथि छानबिन गर्न सकिने राय दिएपछि अख्तियारलाई सहज भएको हो । 

‘छानबिन गर्न मिल्ने राय पाएपछि अब हामी विस्तृत अनुसन्धानमा जान्छौँ,’ अख्तियारका एक अधिकारीले भने । केही दिनभित्रै यससम्बन्धी निर्णय हुने उनले बताए । नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै पाठकले सञ्चालकसँग घुस लिएका थिए । त्यसको भिडियो नै सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए ।घुसको प्रमाण जुटाउन भने अख्तियारलाई कठिन देखिन्छ । घुस दिने पक्षले उजुरी दिए सहज हुने आयोगका एक अधिकारीले बताए । अहिलेसम्म उजुरीकर्ताले अख्तियारलाई जानकारी दिएको छैन । जसकारण घुस दिने पक्ष पनि सजायको भागीदार हुन सक्छ । कसुर ठहर भए पाठकलाई ११ वर्ष कैद र ७८ लाखबराबरको सम्पत्तिसमेत जफत हुन्छ ।

भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ३ मा ५० लाखदेखि एक करोडसम्म घुस लिनेलाई ६ वर्षदेखि आठ वर्षसम्म कैद सजायको प्रावधान छ । संवैधानिक अंगका पदाधिकारीलाई थप तीन वर्ष कैद सजायको व्यवस्था छ ।  कसुर पुष्टि भए पाठकलाई ११ वर्षसम्म कैद हुन सक्छ ।

-नयाँ पत्रिका 

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ७, २०७५     6:19:53 AM  |

प्रतिक्रया दिनुहोस्