22 January 2020  |   बुधबार, माघ ८, २०७६

गण्डकी प्रएशका पाँच मन्त्रीले लिए इन्धनमा दोहोरो सुविधा

    | प्रकाशित मितिः बुधबार, फाल्गुन ८, २०७५  

काठमाण्डौ । गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको छ । सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा मन्त्रालयबाटै तेल भर्दै आएको रिपोर्ट सार्वजनिक लेखा समितिमा पुगेको हो । 

मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको सूचना पाएपछि १५ माघमा सार्वजनिक लेखा समितिको बैठकले सबै मन्त्रालयलाई सात दिनभित्र रिपोर्ट पेस गर्न निर्देशन दिएको थियो । लेखाको निर्देशनअनुसार मन्त्रालयहरूले चालू आर्थिक वर्षको सात महिनाको रिपोर्ट पेस गरेका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले दोहोरो सुविधा लिएको रिपोर्ट मन्त्रालयले लेखामा बुझाएको नेकपाका एक सांसदले नयाँ पत्रिकालाई बताए ।

सातसदस्यीय मन्त्रिपरिषद्का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयबाट इन्धन सुविधा लिएका छैनन् । सामाजिक विकासमन्त्री नरदेवी पुनले भने तेल हाले–नहालेको जवाफ मन्त्रालयले लेखा समितिलाई अहिलेसम्म बुझाएको छैन । मन्त्रिपरिषद्को निर्णयअनुसार गण्डकी प्रदेश सभाले मासिक मुख्यमन्त्रीले २५०, मन्त्रीले १५० र राज्यमन्त्री तथा सहायकमन्त्रीले १२५ लिटर इन्धनका लागि रकम पाउने व्यवस्था पारित गरेको थियो ।

तर, मन्त्रीहरूले रकम पनि बुझ्दै मन्त्रालयबाट थप तेल सुविधा लिँदै आएका छन् । उनीहरूले जिल्लामा हुने कार्यक्रममा जाँदा बढी तेल हाल्ने गरेको देखिएको ती सांसदले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कुनै ऐन वा निर्णयविनै मन्त्रीले तेल राखेको रिपोर्ट पेस गरेको छ । अन्य मन्त्रालयले भने कारण खुलाएका छैनन् । कारण नखुलाउनेलाई समितिले पुनः स्पष्ट पारेर जवाफ पठाउन निर्देशन दिएको छ ।

प्रदेशका मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीले ४ फागुन ०७४ मा तथा आर्थिक मामिला तथा योजना, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीले १२ चैतमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

 सार्वजनिक लेखा समितिद्वारा दोस्रोपटक पत्राचार
२,०४८ लिटर
किरण गुरुङ, आर्थिक मामिला तथा योजनामन्त्री
१,३५१ लिटर
रामशरण बस्नेत, भौतिक पूर्वाधार विकासमन्त्री
७८१ लिटर
लेखबहादुर थापा, भूमि व्यवस्था, कृषिमन्त्री
५५८ लिटर
हरिबहादुर चुमान, आन्तरिक मामिला तथा कानुनमन्त्री
५३० लिटर
विकास लम्साल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

-नयाँ पत्रिका 

प्रकाशित मितिः बुधबार, फाल्गुन ८, २०७५     7:08:12 AM  |

प्रतिक्रया दिनुहोस्