राजनीतिक दल र तिन्का कार्यकर्ताको मात्रै भयो देश,सरकार चेन्ज पोजिसन चेन्ज !

मनोज पराजुली
जनता भन्ने त नाम मात्रै हो, अझै हामी देश बन्छ भनेर ताली मार्छौं। के यसरी नै देश बन्छ? जस्को सरकार उसैको कार्यकर्ता को मात्रै पालो । सरकारी कर्मचारी होस् या शिक्षक, ठेक्का पट्टा होस् कि राजनीतिक नियुक्ति ! अस्थाइ कर्मचारी या आयोग र नियोगमा होस । प्रोजेक्ट्समा होस् या करारमा । आफ्नै कार्यकर्ता या नेताको सिफारिसमा आफ्ना मान्छे।

विकासको बजेट होस् या आफ्नो कार्यकर्ता पाल्न बेरोजगारी भत्ता । दशै खर्च, पीडितको नाममा रकम निकाशा, बिरामी खर्च, इत्यादीमा आफ्नै दलको कार्यकर्तालाई मात्रै दिइन्छ । अझ बिदेशमा पढ्न पाइने, सहुलियतमा स्वदेशमै पढ्न पाइने सुबिधा आफ्नै दलका मान्छे, या नेता कै छोरा-छोरी र आफन्तलाई मात्रै दिइन्छ ।

राजदूत जस्तो संबेदनसिल नियुक्ती समेत दलिय आधारमा गरिन्छ। काङ्ग्रेस को सरकार आउँदा काङ्ग्रेसी कार्यकर्ताको मात्रै चान्स, अरु दलका लाई नेपाली नै होइन जस्तो गरिन्छ। माओवादी आउँदा उसैको, एमालेको आउँदा त्यस्तै।

बाबुराम आयो उसैको र उस्की स्वास्नीको मात्रै हैकम चल्छ। देउवा आयो भने आरजुको मात्रै, केपी ओली आउँदा उसैको मात्रै, प्रचन्ड आउँदा, हिजो सम्म छोरोको चल्थ्यो, अहिले छोरी र ज्वाँईको चल्छ। अझ मिलिजुली सरकार हुँदा, साथ दिने दल र मन्त्रीको त कुरै न गरे हुन्छ। उस्ले जे चाह्यो तेही गर्ने उस्लाई छुट हुन्छ। यसपालिको समानुपातिक सभासदलाई नै लिउ, आँफै स्वास्नी, साली,ससुराली, मावली, भाई भतिजा पछि पार्टीका कार्यकर्ता या नेता को पालो आयो। खै कस्तो समानुपातिक ब्यवस्था हो ? र कस्ता कार्यकर्ता हुँन ?

कस्तो अचम्म, सरकार चेन्ज सबैको पोजिसन चेन्ज। राजदूत समेत फिर्ता बोलाईन्छ। कर्मचारी, प्रहरी लाई भटाभट सरुवा गरिन्छ। कुनै कुनै ले दाम दिएर हुन्छ कि आफ्नो मान्छे लगाएर टिक्न सक्ने ब्यवस्था गर्छन्।

भर्खरै DSP बाट SP को बडुवाको कुरो भयो। सुने अनुसार प्रचन्ड र उस्की छोरीलाई चुनाव जिताउने या उनिहरुको चाकडी गर्ने DSP थापा (नै होला शायद) लाई SP मा बडुवा गर्न केही नियम मिचिएको छ रे। अरु पनि शक्ती केन्द्र धाएर आफुलाई SP बनाउन सफल भए ।

यो ब्यवस्थामा कर्मचारीलाई निरुत्साहित गरिन्दै छ कि व्यथितीको संस्कृति ? र यस् प्रकारले खुलेआम निति, नियम मिचेर आफ्नो मान्छेलाई भर्ती गर्ने २०४६ को परिवर्तन पछि  ब्यापक भयो। अब यस्तो प्रवृत्तिले सामान्य जनता, जस्को आफ्नो मान्छे छैन, उस्ले कसरी सरकारी काम होस्, या कानून र न्याय माग्न कता जाने ?

कार्यकर्ताले जस्तो सुकै काम गरे पनि, अपराध गरे पनि, जागिर खाए पनि, र बलात्कारनै गरे पनि, उस्ले छुट पाउने ब्यवस्था खोजेको हामीले कि सबैलाई समान अधिकार र निसाफ? आँफै बिचार गरौ । सुन्नमा त यो पनि आयो कि अब आउने ४ बर्ष, एमाले र माओवादीका समर्थक या कार्यकर्ता बाहेक अरु कसैले पनि कुनै पनि क्षेत्रमा सहुलियत न पाउने रे। होइन भने आँफै विचार  गर्नु होला कुनै दिन।

सरकारले विकासको बाटो मा गती लिदैछ । पाइला चाल्दै छ भनेर कम्युनिस्ट धारमा कार्यकर्ता या समर्थकले मात्रै भन्ने हुन । नत्र अलि दिन कुरौ । यो बेरोजगार भत्ता अरु कुनै दलका कार्यकर्ता या जनता ले मरी गये पनि पाउदैनन।

देशमा बिकास हुन स्वच्छ राजनैतीक, नैतीक र दृढ आत्माबिश्वास र इमान्दार मान्छे चाहिएको छ । र चाहिन्छ पनि । राजनैतीक धरातल बाट देश कहिले पनि उभो लाग्दैन। जान्ने, बुझ्ने, र बुझेका सबै यो सिस्टम सङ्ग जोडीएका छन । उनीहरुको छाक टरेकै छ। एक पल्ट बजार निस्केर त हेरौ, पिडा  बाहेक केही पनि पाइन्दैन।

राजनैतीक दलका नेताहरु एक अर्का का चौकिदार हुन, त्यसैले अहिले काङ्ग्रेसले विरोध गरे जस्तो गरेको मात्रै हो । रा.प्र.पा लाई दुई चार वटा मन्त्री न भएर छटपटाको मात्रै हो। त्यसैले नेपालमा निर्दलिय व्यवस्था आवश्यक छ । यदी देशको कुरो गर्ने हो भने। नत्र भर्खरै काङ्ग्रेसले हाम्रो शिक्षा मास्न ५ अर्ब लियिसकेको छ । कम्युनिस्ट बोल्दैन । शिक्षा विद्ययक पास भयो र UPF को सम्मेलन खुल्लम खुल्ला हिसाबले सम्पन्न भयो।

यो व्यवस्थाले न त गुणस्तरीय शिक्षा दिन सक्छ, न त जनतालाई सहज हिसाबले स्वास्थ। मेलम्ची अझै ४ बर्ष लम्बियो । तर भाषण आउछ केही दिनमा काठमाडौंका जनताले मेलम्चीको पानी खान पाउछन। पानी जहाज को कार्यालय को उद्घाटन भयो । न त कर्मचारी छन न त अफिस।  हचुवाको भरमा गाडीको नम्बर प्लेट बदलिन्दै छ, भोली फेरी अर्को आउछ।

काठमाडौंको खाल्डाखुल्डी हरेक सरकारले एक महिना पछि  पुर्छु भन्छ । बर्षा लाग्छ फेरी भाषण र सेमिनार सुरु हुन्छ। ५% काम गरेको कुरोलाई ५००% गर्यौ भन्यो, सिद्धियो। त्यो ५% काम समेत भोली हुँदैन। पप्पु कन्स्ट्रक्सनलाई सजाय दिये जस्तो गरिन्छ, देशका आधा सरो ठेक्का पट्टा उसैको नाममा छ।

सरकारी जग्गालाई निजिकरण भन्दै लगभग बेचेर खाइ सके। निजिकरणको नाममा बेचिएको सरकारी जमिन फिर्ता कस्ले ल्याउने?

र यो कुनै अमुक दल ले मात्रै होइन । गिरिजा देखि प्रचण्ड ,ओली देखि माधवंझलनाथ देखि बाबुराम, शेरबहादुर सबैले आ-आफ्नो पालोमा बेचेको हो। कलकारखाना काङ्ग्रेसले सिद्ध्यायो भन्नु पाप लाग्छ, कलकारखाना मात्रै होइन, त्यस्ले ओगटेको जमीन समेत सबै दलले बेचेको छ।

देश पक्कै विकास हुन्छ। यदी, ५० खर्ब पैसा देशको ढुकुटीमा ल्याउने हो भने । सरकारी जग्गा, गुठीको जग्गा, संस्थानको जग्गा, खोला किनराले ओगटेको जग्गा, राजा वीरेन्द्रको परिवारको जग्गा जुन नेपाल ट्रस्टले कब्जा गरेर व्यक्तीलाई या नेतालाई बेचेको छ, सुकुम्बासीको नाउमा बेचिएको जग्गा सबै फिर्ता ल्याउनु पर्छ। यसरी बेचिएको या सित्तैमा पाको जग्गामा बस्ने पनि दोषी छन । उनिहरुबाट यो सबै खोसिनुपर्छ।

काठमाडौंमा दैनिक बनेका घरहरुको एक एक लग निकालेर त्यस्को स्रोत हेरेर सरकारी करण गर्नु पर्छ । किनकी धेरै बिचौलिया भनाउदाहरु पनि नेता भन्दा बढी कर्मचारी भन्दा बढी  दोषी छन। सरकारी कर्मचारीको घरको लग निकालेर उनीहरुलाई हदै सम्मको पेनेल्टी ठोक्नुपर्छ।

शिक्षक, अधिकारवादी, पत्रकार, लगायत व्यक्तिको पनि आय अनुसार को हैसियत छैन नेपालमा । तिनिहरुलाई समेत हदै सम्मको पेनेल्टी लगाउनु पर्छ। सक्छन भने तिर्छन होइन भने उनिहरुको चल-अचल सम्पत्ती कब्जा गर्नुपर्छ।

६० लाख भन्दा माथिको गाडी चड्ने मान्छेको हैसियत कसरी भयो? चाहे त्यो कर्मचारी होस्, व्यक्ति होस् । कुनै पेसामा आबद्ध होस् या राजनैतीक कर्मी होस्, उनिहरुलाई गहन अनुन्सन्धान गरेर उनिहरु को आय स्रोततको हिसाब लिदै सजायको दायरा भित्र ल्याउनु पर्छ। तर कस्ले गर्ने? अहिले दुई तिहाइको कम्युनिस्टको सरकार छ, उस्ले काङ्ग्रेसी र अरु दललाई यो सबै गर्न सक्ने हैसियत राख्छ । तर फेरी चार बर्ष पछाडि फेरी काङ्ग्रेस को सरकार आयो भने?

त्यसले दल र कार्यकर्ताको मात्रै भयो देश। जनता भन्ने त नाम मात्रै हो, अझै हामी देश बन्छ भनेर ताली मार्छौं। के यसरी नै देश बन्छ? देश बनाउने हो भने इमान्दार नेपालीले देश चलाऊनु पर्छ।

राजनैतीक दललाई पूर्णरुपमा बन्देज लाउनु पर्छ। र सबै भ्रस्टहरुलाई जेलमा कोचेर उनिहरुको सम्पत्ती राष्ट्रियकरण गर्नु पर्छ। चाहे देशमा हुन या बिदेशमा, र सकिन्छ पनि। मेरो व्यक्तिगत विचारमा कम्सेकम ७ हजार परिवार लाई सजायको दाँयरामा ल्याउने हो भने, देश ऋण मुक्त हुन्छ। नत्र ०४६ साल सम्म प्रति व्यक्ति ३ हजार ऋण थियो आज ३० हजार पुगेको छ। दलका कार्यकर्ताले यो कुरो बुझ्न् जरुरी छ यदी नेपाली हौ भने। नत्र आफ्नो परिवारको त गुजारा चल्ला, नेपाल र नेपालीको चल्दैन ।

प्रतिक्रया दिनुहोस्