24 February 2020  |   सोमवार, फाल्गुन १२, २०७६

भारतीय जेलमा कुटीकुटी मारिए पाकिस्तानी नागरिक

    | प्रकाशित मितिः बुधबार, फाल्गुन ८, २०७५  

जयपुर । भारतको राजस्थानस्थित जयपुर केन्द्रिय जेलमा एक पाकिस्तानी बन्दी शकरुल्लाहको कैदी बन्दीले नै कुटीकटी हत्या गरेका छन् । पाकिस्तानको सियालकोटका शकरुल्लाह भारतीय जेलमा जन्मकैदको सजाय काटिरहेका थिए ।

जेलमा नै रहेका चार भारतीय कैदीले नै उनलाई ढुंगाले हानेर हत्या गरेको बताइएको छ । प्रहरीले यो घटना बुधबार बिहान भएको बताएका छन् ।जयपुर प्रहरीका वरिष्ठ अधिकारी लक्ष्मण गौडले जेलबाहिर भेला भएका पत्रकारसँगको कुराकानीमा सो घटनाको पुष्टि गरेका छन् ।

गौडले प्रारम्भिक रुपमा जेलमा रहेको टेलिभिजनको आवाजलाई लिएर विवाद सुरु भएको र सोही विवादमा उनको हत्या भएको उल्लेख गरेका छन् । गौडले यसरी हत्यामा उत्रिने कैदी बन्दीको पहिचान भइसकेको पनि बताए ।यो घटनालाई लिएर तनावको अवस्था सिर्जना भएको छ । जेलका महानिर्देशक एनआरके रेड्डीसहित वरिष्ठ अधिकारी तत्काल पुगेका थिए भने विधि विज्ञान प्रयोगशालाको टोली पनि पुगेको थियो । गौडले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रहरीले यो घटनामा पुलवामा घटनाको सम्बन्ध रहेको हुनसक्ने आशंका गर्दै सोधिएको प्रश्नको जवाफमा प्रहरीले हालसम्म टेलिभिजनको आवाज ठूलो सानो बनाउने विषयलाई लिएर तनाव भएको देखिएको जानकारी दिएको छ ।

शकरुल्ला र अन्य दुई पाकिस्तानी नागरिकलाई सन् २०१७ मा जयपुरको एक अदालतले भारतमा आतंक फैलाएको आरोपमा जन्मकैदको फैसला सुनाएको थियो । त्यस समयदेखि नै उनी जयपुर जेलमा रहँदै आएका थिए ।

उनीमाथि चरमपन्थी संगठन लस्कर ए तैएबाका लागि काम गरेको आरोप लागेको थियो । प्रहरीले यो घटनामा ८ जनालाई दोषी ठहर गरेको थियो । जसमा ५ भारतीय र ३ पाकिस्तानी नागरिक रहेका थिए । यो घटनापछि जेलमा सुरक्षा बढाइएको छ ।

राजस्तानका विभिन्न जेलमा २० हजारभन्दा बढी कैदी बन्दी रहेका छन् । जसमध्ये ६२ जना विदेशी नागरिक रहेका छन् । पाकिस्तानी दुई दर्जन नागरिक जयपुरका जेलमा रहँदै आएका छन् । -राजधानी 

प्रकाशित मितिः बुधबार, फाल्गुन ८, २०७५     10:57:32 PM  |

प्रतिक्रया दिनुहोस्