22 January 2020  |   बुधबार, माघ ८, २०७६

नेकपाका नेता तथा प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन

    | प्रकाशित मितिः शुक्रबार, फाल्गुन १०, २०७५  

कोहलपुरा । प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार ओलीको निधन भएको छ । गत माघ २४ गते सवारी दुर्घटनामा परी गम्भिर घाइते सांसद ओलीको काठमाडौंमा उपचार भइरहेको थियो । नेकपाका नेता तथा सांसद ओली चढेको गाडी दाङमा दुर्घटना भएको थियो । उनको उपचारकै क्रममा निधन भएको बताइएको छ । उनी दाङ क्षेत्र नं ३ (२) बाट निर्वाचित भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका ओलीलाई कोहलपुर मेडिकल कलेजमा उपचारको लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट राजधानी लगिएको थियो । दुर्घटना भएको १६ दिनसम्म उपचार भैरहेका रहेका सांसद ओलीलाई शुक्रबार बिहानै मृत घोषणा गरिएको हो ।

घोराहीबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद ओली सवार कारलाई घोराही–लमही सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका वडा नम्वर ३ चिसापानी नजिकै ठक्कर दिदा दुर्घटना भएको थियो । सांसद ओलीको टाउकोमा, हातमा, खुट्टामा गम्भीर चोट लागेको थियो ।

सांसद ओली आफैँले कार चलाएका थिए । दंगीशरण गाउँपालिका वडा नं  ६ लेटार निवासी सांसद ओली गत बर्ष भएको प्रदेश सभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं । ३ (२) बाट निर्वाचित भएका हुन् । उक्त दुर्घटनामा परी बसमा सवार रुकुम घर भएकी अन्दाजी २७ वर्षिया रमिता शर्माको पनि मृत्यु भएको थियो ।

यसैबीच दिवंगत प्रदेशसभा सदस्य ओलीलाई अन्तिम श्रद्धान्जली दिनका लागि अहिले बिहान ९ बजेदेखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने भएको छ । कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार १० बजेपछि उनको शव आजै गृहजिल्ला दाङ लैजाने तयारी छ ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन १०, २०७५     8:21:15 AM  |

प्रतिक्रया दिनुहोस्