गाैतमबुद्ध विमानस्थमा आउदो भदाैबाट व्यवसायिक उडानको तयारी

काठमाडौ‌ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति सन् २०१७ को डिसेम्बरसम्म २६ प्रतिशत मात्रै थियो। आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन।

कामको गति कछुवाको जस्तै थियो। समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन। निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन। नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत प्रभावकारी समन्वय गर्न सकेको थिएन। आयोजना करिब करिब रुग्ण अवस्थामा पुगेको थियो।

आयोजनालाई अगाडि बढाउने जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि बेखबर अवस्थामा थियो। समन्वय गर्ने निकायको चासो थिएन। लगानीकर्ता एशियाली विकास बैंकलाई समेत आयोजनाको दुरवस्थाले पिरोलेको थियो। ठेकेदारको बेमेल परामर्शदाताको परामर्शको समेत सुनुवाइ नभएको अवस्थामा आयोजना सकिनसकी घस्रिरहेको अवस्थामा थियो। सन् २०१५ को जनवरीदेखि शुरु भएको आयोजना सन् २०१७ मा सक्ने लक्ष्य भए पनि तोकिएको समयमा काम भएन । चौध महीनापछि आयोजनाको अवस्था अर्कै भएको छ। कूल २६ प्रतिशत भौतिक प्रगतिमा रहेको आयोजना आज करिब ७० प्रतिशतको हाराहारीमा पुगेको छ।

भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर निर्माण भइरहेको विमानस्थलको दुःखद अतित सुखद् वर्तमानमा परिणत भएको छ। आगामी भदौ महिनादेखि व्यावसायिक उडान गर्ने लक्ष्यका साथ निर्माणकार्य भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारी सगौरव बताउछन् । – गाेरखापत्र दैनिक

प्रतिक्रया दिनुहोस्