22 January 2020  |   बुधबार, माघ ८, २०७६

वाइड वडी विमान प्रकरण:देउवा पनि तानिए, मन्त्री अधिकारीमाथि समेत छानबिन हुने

    | प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५  

काठमाडौं । वाइडबडी जहाज खरिद प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मन्त्री रविन्द्र अधिकारी पनि तानिने भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बायु सेवा निगमका लागि खरिद गरिएका एयरबस जहाजका विषयमा अनुसन्धान थालेपछि देउवा र अधिकारी तानिने भएका हुन् ।

अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले खरिद प्रक्रियामा जोडिएका सबैसँग अख्तियारले बयान लिने क्रम जारी रहेको र प्रमाण संकलनको काम पनि भइरहेको बताए। उनले वाइडबडी जहाजका विषयमा विस्तृत अनुसन्धान भइरहेको बताएका छन्।

पछिल्लो समय घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठकलाई पनि नछाड्ने संकेत गरेका छन्। उनले अख्तियारले संवैधानिक निकायका पदाधिकारीमाथि अनुसन्धान गर्ने अख्तियारी नपाएको भए पनि महान्यायाधीवक्ता अग्नी खरेलसँग सहकार्य गरेर पाठकलाई अनुसन्धानको दायरामा ल्याइएको बताएका छन्।

संघीय संसद राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा बोल्दै प्रमुख आयुक्त घिमिरेले निगमको बाइडबडी विमान प्रकरणमा विस्तृत अनुसन्धान भइरहेको बताए।

उनले खरिदमा जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याइएको बताए। खरिद प्रकरणमा जोडिएका सबैजना अनुसन्धानमा तानिएमा पूर्व पर्यटनमन्त्रीहरूसहित बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि समेटिने छन्। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटन मन्त्रालय सम्हालेकै बेलामा वाइडबडीका लागि पहिलो किस्ता निकासा भएकाले यो प्रकरणमा देउवा पनि जोडिने छन्।

प्रमुख आयुक्त घिमिरेले आयुक्त पाठकको विषयले आफूहरु चिन्तित भएको पनि बताए।- yeskathmandu

प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५     4:46:47 PM  |

प्रतिक्रया दिनुहोस्