26 January 2020  |   आइतवार, माघ १२, २०७६

पुर्वी ताप्लेजुङ बाट राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा, सनातन धर्म, संस्कृति सहितको झाँकी पनि रहने

    | प्रकाशित मितिः सोमवार, फाल्गुन १३, २०७५  

विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही फागुन १५ फागुनबाट सुरु गर्ने ‘मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

सोमबार झापाको विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट राप्रपाले स्वाभिमान यात्रा सुरु गर्न लागिएको जनाइएको हो । पहिलो चरणमा ३६ वटा जिल्लामा पुग्ने स्वाभिमान यात्रा ३० फागुनसम्म चल्ने राप्रपाले जनाएको छ ।

ताप्लेजुङस्थित पाथीभरा देवीको मन्दिरमा वृहत्त धार्मिक अनुष्ठान गरी ताप्लेजुङ बजारमा आमसभा गरेपश्चात यात्रा शुभारम्भ गरिने राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए । उनका अनुसार यो यात्रा ७७ वटै जिल्लामा गरिनेछ ।

स्वाभिमान यात्रा पहिलो चरणमा ताप्लेजुङबाट सुरु भइ सुर्खेत, कैलाली, कञ्चनपुर लगायत ३६ वटा जिल्लामा पुग्नेछ । र समापन काठमाडौँमा गरिनेछ । दोस्रो चरणको यात्राको मिति तय भइनसके पनि उत्तर–दक्षिण यात्रा गरिने पक्कापक्की भएको महामन्त्री लिङ्देनले जानकारी दिए ।

यात्रामा राप्रपाका केन्द्रीय पदाधिकारी एवम् सदस्य, विभाग प्रमुख, भातृ संगठनका अध्यक्ष, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सबै जिल्लाको प्रतिनिधित्व हुने गरी पदाधिकारीको सहभागिता रहने बताइएको छ ।

स्वाभिमान यात्रामा सनातन धर्म, परम्परा, संस्कृति एवम् राष्ट्रियता झल्कने किसिमका झाँकी समावेश गरिने राप्रपाले जनाएको छ । प्रत्येक दिन यात्रा प्रारम्भ र विश्राम गर्दा धार्मिक अनुष्ठान गरिने तथा यात्रा अवधिभर शाकाहारी भोजन गरिनेछ । यात्रामा तीन सयवटा गाडीमा पाँच सयजना स्थायी यात्रु रहनेछन् ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १३, २०७५     12:40:26 PM  |

प्रतिक्रया दिनुहोस्