24 January 2020  |   शुक्रबार, माघ १०, २०७६

बिजनेस भिसामा बसेर धार्मिक र आपराधिक गतिविधिमा संलग्न हुने विदेशी बढ्दै

    | प्रकाशित मितिः बुधबार, फाल्गुन १५, २०७५  

काठमाडौं । नेपालमा बिजनेस भिसामा बसेका विदेशी नागरिक धार्मिक र आपराधिक गतिविधिमा संलग्न हुने क्रम बढ्दै गएको छ । बिजनेस गर्न लगानी ल्याउने भन्दै उनीहरूले सजिलै भिसा पाउने गरेका छन् । तर, लगानी भने वार्षिक रूपमा घट्दै गएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनाको तुलनामा यो वर्षको सोही अवधिमा नेपालमा विदेशी लगानी घटेको छ । लगानी घटे पनि विदेशी लगानीमा स्थापना हुने साना कम्पनीको संख्या भने बढ्दो छ ।

साना कम्पनीका नाममा लगानी बढ्नु शंकास्पद रहेको उद्योग विभागका अधिकारीहरू बताउँछन् । कम्पनी खोलेपछि बिजनेस भिसा पाइने भएकाले व्यापारको नाममा अन्य गतिविधिमा संलग्न हुन विदेशीहरूले साना कम्पनीमा लगानी बढेको उनीहरूको भनाइ छ । विभागका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा १४ अर्ब एक करोड ७३ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा ११ अर्ब मात्र विदेशी लगानी आएको छ, तर कम्पनीको संख्या भने बढेको छ ।

नेपालमा बिजनेस भिसाका लागि खुकुलो प्रावधान भएकाले पनि यसको दुरुपयोग बढेको प्रहरी तथा अध्यागमन अधिकारीले बताएका छन् । नेपालमा बिजनेस भिसामा रहेका व्यक्तिहरू विभिन्न आपराधिक गतिविधिमा पक्राउ पर्दै आएका छन् । कतिपय धर्म प्रचारमा संलग्न छन् । निगरानीको संयन्त्र कमजोर हुँदा नेपालमा अवैध गतिविधि बढाएका छन् । अध्यागमन विभागका अनुसार हाल दुई हजार आठ विदेशी नेपालमा बिजनेस भिसामा बसिरहेका छन् ।

गत असारमा बिजनेस भिसामा बसेर चर्च खोल्ने फिलिपिनी नागरिक दे भेरा रिचर्ड र इन्डोनेसियाकी रीता गोङ्गालाई पक्राउ गरी अध्यागमन विभागले निष्कासन गरेको थियो । ठमेलमा काठमाडौं वान नामक होटेल चलाउने चिनियाँ नागरिक सुन तस्करीमा संलग्न भएका थिए । गत असारमै युक्रेनका दुई नागरिक वैदेशिक रोजगारी ठगीको आरोपमा पुतलीसडकबाट पक्राउ परेका थिए ।

उनीहरूले पोल्यान्ड पठाउने भनेर ठगी गरेका थिए । बिजनेस भिसामा बस्दै आएका केही चिनियाँ नागरिक अवैध डलर तथा वन्यजन्तुको अंगको कारोबारको आरोपमा समेत पक्राउ परेका छन् । चितवनमा बेकरी सञ्चालन गर्दै आएका कोरियन नागरिक धर्म प्रचारमा संलग्न पाएपछि उनीहरूलाई हालै सचेत गराइएको छ । पर्यटक भिसामा नेपालमा एक वर्षमा बढीमा १५० दिन मात्र बस्न पाइन्छ । लामो समय नेपाल बस्न चाहनेले बिजनेस भिसा लिने गरेका छन् । -naya patrika

प्रकाशित मितिः बुधबार, फाल्गुन १५, २०७५     6:38:51 AM  |

प्रतिक्रया दिनुहोस्