28 January 2020  |   मङ्लबार, माघ १४, २०७६

आर्थिक सहायता र भ्रमण भत्तामा एक महिनामै डेढ करोड खर्ल्याप्पै स्वाहा

    | प्रकाशित मितिः बुधबार, फाल्गुन १५, २०७५  

काठमाडौं । सरकारले आर्थिक सहायता र भ्रमण शीर्षकमा एक महिनामा मात्रै १ करोड ५० लाख रुपैयाँभन्दा बढी बाँडेको पाइएको छ ।

सरकारले विभिन्न समयमा गरेको आर्थिक सहायता वितरण र उच्चपदस्थ सरकारी अधिकारीको विदेश भ्रमणको निर्णयअनुसार सो रकम वितरण गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार माघ महिनामा मात्रै १ करोड ५४ लाख २१ हजार २५७ रुपैयाँ निकासा भएको छ ।

जसमा आर्थिक सहायता शीर्षकमा ७९ लाख ९५ हजार १७७ र पदाधिकारी भ्रमणमा ७४ लाख २६ हजार ८० रुपैयाँ खर्च भएको देखिएको छ ।  अर्थ मन्त्रालयका अनुसार पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई भारतमा उपचार गर्नका लागि २ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

यस्तै, अर्थ मन्त्रालय मातहत विभिन्न मितिमा विदेशका कार्यक्रममा सहभागी भएकाहरुका लागि ३७ लाख ५ हजार ९३१ रुपैयाँ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका लागि २६ लाख ४१ हजार ८२८ रुपैयाँ निकासा भएको छ ।

यस्तै, दुबईमा आयोजना भएको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहित तीन सदस्यीय टोलीका लागि ५ लाख ५६ हजार २८० रुपैयाँ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा भारतमा अन्तर्राष्ट्रिय अवार्ड ग्रहणमा जाँदा भएको खर्च शीर्षकमा १ लाख ८९ हजार ६८० रुपैयाँ अर्थ मन्त्रालयमार्फत निकासा भएको छ ।

यस्तै, भारतको मुम्बईमा भएको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलका लागि २ लाख ४२ हजार ३६१ रुपैयाँ उपलब्ध गराइएको छ ।

यस्तै, आर्थिक सहायतातर्फ सर्लाही रामनगर गाउँपालिका–४ का मृतक रामविलास महतोको परिवारका लागि १० लाख, धनकुटाका जनार्दन आचार्य, नेपालगन्जका विन्दु कुँवर र मोहनकुमार श्रेष्ठ, दूधकोसी गाउँपालिकाका अनुप्रशान्त राई, र यम्घा–३ का केशरी न्यौपानेलाई ५–५ लाखका दरले २५ लाख रुपैयाँ वितरण गरिएको छ ।

गुल्मीका थानेश्वर ज्ञवालीलाई ५ लाख, काठमाडौंका मदनमणि दीक्षितलाई ७ लाख रुपैयाँ, काठमाडौंकै बसन्तकुमार शर्मालाई ५ लाख, सिरहाका सत्यम शर्मा पौडेललाई ५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । यस्तै, अर्थ मन्त्रालयका अनुसार उदयपुरका खड्कबहादुर आलेलाई ५ लाख, रिडी इलाका हुलाक कार्यालयका थानेश्वर ज्ञवालीलाई ५ लाख रुपैयाँ निकासा गरिएको छ ।

शहीद शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत विष्णा जोशीको उपचार खर्चका लागि १० लाख रुपैयाँ निकासा भएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।- राजधानी दैनिक 

 

 

प्रकाशित मितिः बुधबार, फाल्गुन १५, २०७५     8:19:59 AM  |

प्रतिक्रया दिनुहोस्