24 May 2019  |   शुक्रबार, जेष्ठ १०, २०७६

यो कस्तो राष्ट्रवाद हो ?

    | प्रकाशित मितिः शुक्रबार, फाल्गुन २४, २०७५  


मनोज पराजुली
देश रहने हो कि न रहने हो भन्ने चिन्ता एक वर्गलाई बितेको केही वर्षदेखि व्हात्तै बढेकोको देखिन्छ । नेपालमा व्याप्त भ्रष्टाचार , कुशासन ,नातावाद-कृपावाद,असुरक्षा,शिक्षा र स्वास्थमा माफियाको राज चलेको छ । पानी र बिजुलीदेखि बाटो र संचारसम्म एक वर्गको राज छ । अनी दैनिक हुने हत्या र बलात्कारले आजित भएका जनताले राजनैतीक दलहरु सङ्ग, उनीहरुको चरित्र सङ्ग बितृष्णा देखाउने अनेकौ आक्रोश बेलाबेलामा देखिन थालेको छ। चाहे त्यो सामाजिक सन्जालमा लेखेर होस् या, कोंणसभा या कोठे सभा गरेर होस्, या मिडियामा बोलेर होस् या पत्रपत्रिकामा लेखेर होस्।

तर सबै राजनैतीक दल र सरकारहरु एक अर्काका चौकिदार अनि जनतासमेत अझै पनि दलिय “कार्यकर्ता” भएको भएर राजनैतीक कर्मीहरुले सर्भे र सम्भावनाको भाषण गर्दै आफुलाई उभ्याउन सफल भएका छन। जनतामा चेतनाको कमी गराउदै, युवाहरुलाई खाडीमा धकेल्ने, अर्ध शिक्षितहरुलाई धर्म र जातीमा बाडेर आफुहरु तमासायी हुने, बौद्धिक वर्ग या केही पहुचवाला हरुलाई पद र पैसामा किनेर एक प्रकारको “सुन्यता” बनाएर एकछत्र राज गर्दैछन । नेपालका राजनैतीक दलहरु।

सरकारमा जो सुकै आओस, जस्तो सुकै राष्ट्रघाती निर्णय होस्, विरोध गरे जस्तो गर्ने अनि सबैको मिलोमतोमा संविधान र चुनावी परिणामको दुहाइ दिएर पारीत गर्ने सस्कृतिको विकास भएको छ। किनकी विरोध जतीसुकै गरे पनि बिगत हेर्ने बित्तिकै सबै एउटै नाउमा सवार भएको घिनलाग्दो यथार्थले कसैले पनि राष्ट्रहितको लागि आवाज उठाउन सक्दैनन। यो नै यथार्थ हो।

मधेशवादी दलले सरकार छोड्नु, कुनै औचित्य छैन। राप्रपा होस् या काङ्ग्रेसले केही अवसरवादी नेता हुन या केही राजावादी भनाउदा या हिन्दूवादी संगठन हिन्दू राष्ट्रको माग गरेर रेली निकाल्नु को पनि कुनै औचित्य छैन। काङ्ग्रेसले सदनमा या सडकमा चिच्याउनु को पनि कुनै औचित्य छैन । न बौद्धिक वर्गले आफ्नो बौद्धिक्ता छाटेर केही उपलब्दी नै छ् किनकी यिनिहरु सबै यसै व्यवस्थाका अङ्ग हुन। सबैले यसै व्यवस्थामा आफ्नो छाक टारेर दैनिकी चलाई राखेका छन।

विदेश भ्रमण र काठमाडौंमा गाडी र घर यसै ब्यवस्थाले उपलब्द गराउछ यिनिहरुलाई। यस्को बावजूत, विदेशीको स्वार्थ पुरा गर्न विदेशीले यिनिहरु सबैलाई दामासाहीले किनिसकेको छ। चाहे त्यो भारत होस् या पश्चिमी शक्ती। बुझ्नेले बुझेको छ, नेपालमा परिवर्तन आवश्यक छ । वैदेशिक हस्तक्षेप उच्च छ। यो व्यवस्थाले देश र जनतालाई निकाश दिन सक्दैन भन्ने तर देश र जनताको हितमा, विकास र निकाशको बाटोमा तैँ चुप मैँ चुप हुन वाध्य छन ।

नेपालका सरोकारवाला निकाय होस् या कर्मचारी होस् या राजनैतीक दल या सरकार। किनकी यिनिहरुको परिचय मात्रै नेपाली छ । यथार्थमा यिनिहरु सत्ता, सम्पत्ती र सौख को लागि विदेशीका गुलाम भएका छन। अघिल्लो पुस्ता या भनौ २०४६ अघीका नेतादेखि  पछिल्लो समयमा च्याउ झै उम्रेका युवा पुस्ता समेत चोखो छैनन । र त्यो देखी पनि सकियो। अझ अघिल्लो पुस्ताका सन्तानहरु त झनै उग्र भएर सम्पत्ती र शक्तिको होडमा लागेको यथार्थले देश अब साच्चिकै रहन्छ कि रहदैन भन्ने शंका टड्कारो रुपमा आउँदै छ।

सबै राजनीतिक दल, चाहे त्यो माओवादी होस् या काङ्ग्रेस, एमाले होस् या हिजोका पञ्चे या राप्रपाका सन्तान, बौद्धिक वर्ग होस् या केही पत्रकार र केही व्यवस्थाकै अङ्गहरुको परिवार र सम्पत्ती प्राय विदेशमा रहेको तथ्याँकले यो प्रस्ट पारेको छ कि अहिले को राष्ट्रियता भनेको एक हातमा ग्रिन कार्ड र अर्को हातमा राष्ट्रियता।

सकिन्छ राजनीतिक धरातल या बौद्धिक धरातलबाट अझै सम्पत्ती कमाउने र आफ्नो सन्तान दर सन्तानलाई सधैंको लागि विदेशमा सुख सयल कि जिन्दगी बिताउन आधार बनाइदिने। यदी देशको लागि कसैले केही गर्ने थिए भने, राजा र राजसंस्था बाधक थियो भने, परिवर्तन भएको आज ३ दशक भयो।

देशले बहुमतको सरकारदेखि सर्बदलिय सरकार सबै देखिसक्यो। समग्रमा नेपालमा राजनैतीक दल सबै निकम्मा भएको र देश प्रति वफादार नरहेको प्रस्ट हुन्छ। अभ्यास गर्ने, भर्खर दर्हो सरकार आएको छ । सरकार लाई काम गर्न दिउ भन्ने जस्ता हल्का र सस्ता तर्क दिएर देश पक्कै बन्दैन।

यदी गर्ने हो भने सबैभन्दा पहिला निजी विद्यालयलाई सरकारीकरण गर्न सकिन्छ, या सकिन्दैन भने सरकारी विद्यालयमा कम्सेकम गुणस्तरिय शिक्षा दिन सकिन्छ। शिक्षक संगठणलाई बन्द गराउन सकिन्छ। कर्मचारी संगठनलाई पूर्णरुपमा बन्देज लाउन सकिन्छ। नर्सिङ्होम र मेडिकल कलेजलाई निरुत्साहित गर्न सकिन्छ। सरकारी अस्पातल र मेडिकल कलेजलाई गुणस्तरिय बनाउदै जनतालाई सरल पहुच दिन सकिन्छ। प्रहरी प्रशासनलाई चुस्त बनाउन सकिन्छ। सिण्डिकेट र माफियको अन्त्य गर्न सकिन्छ। यस्को लागि कुनै दुई तिहाइको सरकार चाहिन्दैन, कुनै दर्हो सरकार चाहिन्दैन।

निती नियम र इच्छा शक्ती चाहिने हो, भाषणले विकास पक्कै हुँदैन। यती गर्नको लागि यदी प्रतिपक्ष या अरु राजनैतीकदलले समर्थन गर्दैन भने तिन्लाई जनताले हिसाबले थिए। तर यो समेत गर्न न सक्ने कस्तो व्यवस्था हो यो ? कस्तो राजनैतीक चरित्र हो ? कस्तो सरकार हो ? पानी समेत किनेर खानु पर्ने बाध्यता छ देशमा, अनी हामी अझै समृद्धिको कुरो गरेर थाक्दैनौ।

समृद्धि र सुशासनको खोक्रो भाषणले ग्रस्त नेपालीहरु अब फेरी राजा चाहिन्छ, राजसंस्था चाहिन्छ, सुशासन चाहिन्छ, विकास भएन विकास चाहियो, शिक्षा बेचियो गुणस्तरिय शिक्षा चाहियो, भ्रष्टाचारीलाई सजाय दिनुपर्छ भन्ने या परिवर्तन चाहिने सोचको विकास हुँदै छ। एकातर्फ लोकतन्त्र र संघीयतालाई संस्थागन गर्ने वर्ग छ भने अर्को तर्फ राजा चाहिन्छ, राजतन्त्र चाहिन्छ भन्ने वर्ग छ।

मेरो लगभग अढाइ वर्षको अनुभवले के देखायो भने, नेपालमा त न भनौ काठमाडौं केन्द्रित राजावादी, हिन्दूवादी, धर्मवादी, राजतन्त्रवादी, गणतन्त्रका विपक्षी संघ-संगठणहरु लगभग ४५००का हाराहारीमा छन भन्ने सुनियो तर प्रत्यक्ष रुपमा २० भन्दा बढी सकृय देखिएन । र सबै प्राय झण्डे र झुण्डे सोच भएका, अहम र घमण्डले ग्रस्त भएका मात्रै । हिजो अरु दलमा लागेर पद र जस न पाएका असन्तुस्टहरु, विदेशबाट सन्चालित नै त न् भनौ तर भिख मागेर आफ्नो अस्तित्व जोगाउन आफ्नो र राष्ट्रियता अनी धर्मको अश्मिता बेच्नेहरु मात्रै दोकान थापेर बसेको देखियो। यिनै दोकानको भिडमा केही राजाका सचिबहरु बाट, केही यसै व्यवस्थाका मतियारहरु बाट पनि सन्चालित छन भन्ने आभास पाइयो।

यथार्थमा भन्नु पर्दा यि र यसप्रकारका संगठन या त अभियान या अभियान्ताहरुको एउटै उद्देस्य देखियो । यदी कथम कदाचित राजा या राजसंस्थाको पुनर्स्थाप्ना भयो भने, दाम र जस अनि पद र अझै पर जादा मन्त्री पड्काउन पाईने, राजपरिवारको नजिग छु भनेर दम्भ देखाएर शक्ति को प्रदर्शन गर्ने। यिनीहरुमा राजा ल्याउनु पर्छ, राजसंस्था चाहिन्छ, धर्म चाहिन्छ भनेर गर्न सक्ने न त सामर्थ्य नै छ, न त गर्न नै सक्छन। किनकी निर्णयक आन्दोलन गरौ, बोलौ भन्दा सबैको खुट्टा काम्ने मात्रै होइन, उपदेश र अर्ती दिएर पंछिने चरित्र छ।

कसैलाई पनि परिणाममुखी क्रान्ति गर्नु नै छैन। सबैलाई देखिनु छ र देखाउनु छ। मैले १२ बर्ष देखि गर्दै छु । आज मेरो झन्डा जुलुसमा आउनु पर्छ, मेरो कोँण सभामा आउनु पर्छ भन्ने, सामाजिक सन्जालमा या अनलाइनमा बडेमानका कुरा गर्ने तर मैदानमा आउन खुट्टा कमाउने र एक हिसाबले आउन पनि न दिने प्रवृत्ति हाबी छ। यो कुरो गणतन्त्रवादीलाई पनि भलिभाती थाह छ् र राजालाई पनि। त्यसैले राजा आउने कस्का लागि ?

त्यसैले, यदी अब राजा पनि विदेशीको सहयोगमा गद्दीमा बसे भने मलाई चै आश्चर्य लाग्ने छैन । तर दु:ख यस् अर्थमा लाग्न थाल्यो कि हामीले सोचेको, हामीले खोजेको जस्तो राजसंस्था, हामीले खोजेको ब्यवस्था न आउने हो कि ? भन्ने पिर अब म जस्ता केही निरिह नेपालीलाई पक्कै लाग्न थालेको छ। त्यसैले म त भन्छु राजा, राजसंस्था अनि हिन्दू अधिराज्यको नाम कैले सम्म बेच्ने ? कस्तो राष्ट्रबाद हो यो? हामी एक्लो व्यक्तिले के गर्न सक्छौ ? यदी संघ र संगठन चलाऊनेहरुले, भोली पद र प्रतिस्ठा चाहिने हरुले नेतृत्व लिन सक्नुपर्छ । र निर्णयक आन्दोलन या क्रान्ति गर्न सक्नु पर्छ। तब मात्रै परिवर्तन सम्भव छ।

नत्र परिवर्तन त होला, केही नयाँ अनुहारले मन्त्री पनि पाउलान, तर राष्ट्र, राष्ट्रियता, धर्म, शिक्षा, स्वास्थ, विकास, निकास, र रोज्गार असम्भव हुनेछ। किनकी राज्यसत्ता यिनै विदेशीका हलीको हातमा हुनेछ। तर यो सबैको परवाह कसैलाई छैन । अझै पनि दोकान खोल्ने होड छ। सामाजिक अभियान र अभीयन्ता बन्ने होड छ । र यस्मा तिनै अवसरवादी र एक हातमा ग्रिनकार्ड र अर्को हातमा राष्ट्रियता बोकेकाहरुको बाहुल्यता छ।

निर्णयक क्रान्तिको अर्को विकल्प छैन। भ्रस्ट र देशद्रोहीहरु लाई कठघरामा नपारी देश बन्दैन। होइन भने, हुने र सक्नेले आफ्नो सन्तान अमेरिका र बेलायतमा राख्ने हुन । दलिय स्वार्थमा बुरुक बुरुक गर्नेहरु भोली आफ्नै देशमा शरणार्थी हुने पक्का छ। भर्खरै को सिके राउत र केपी ओलीको समिकरण, राजा वीरेन्द्रको जमिन हड्पिने कानून, नागरिकता विधेयक, रोहिङ्या, धर्म परिवर्तन, कुनै असाधारण कुरो होइन।

विप्पा र इण्डो-प्यासिफिक कुनै दानमा पाएको बस्तु होइनन । यो ठुलो षड्यन्त्रको कडी हो जस्ले हामीलाई परनिर्भी मात्रै होइन, पराधिन नै बनाउने छ।  त्यसैले, सम्पूर्ण राजावादी या संघीयताका विपक्षी र नेपाल हिन्दू अधिराज्यका पक्षधरहरुले गम्भिर भएर सोच्ने मात्रै होइन तुरुन्तै निर्णयक आन्दोलनमा जान अत्यावस्यक छ। दोकान भोली खोले पनि हुन्छ । सदस्य बनाको भरमा आन्दोलन पक्कै हुँदैन । आन्दोलन गरे पछि सदस्य आँफै जोडिन्छन र जोडिनुपनि पर्छ। छाक टार्ने मेलो होइन, नेपाल र नेपालीको भबिष्यको बारेमा एक चोटि गम्भिर भएर सोचौ। दुई चार जनाको छाक टरेको छ । दुई चार अनुहार विक्री हुन्छ भन्दैमा समस्त नेपालीको उद्वार हुँदैन।

राजालाई साथ लिएर राजालाई पनि मर्यादित स्थान दिने हो भने एक पल्ट् जमर्को गर्न जरुरी छ। नत्र राजसंस्था आए पनि राजा र राजपरिवार फेरी एक्लै हुने निश्चित छ। देश कङाल र जनता हरिकङ्गाल हुने पक्का पक्की छ। हामी र हाम्रो सोच अलिकती फराकिलो बनाउँ । जमर्को गर्न सकिन्दैन भने साथ दिउँ। तर राजा, राजसंस्था अनि हिन्दू अधिराज्यको नाम बेच्न छोडौ। कैले सम्म बेच्ने? कस्तो राष्ट्रवाद हो यो ? र केका लागि देखाइएको हो यो राष्ट्रवाद र राजावाद ? छाती खोलेर स्वीकार गरौ, साथ दिउ, एक हौ। परिवर्तन सम्भव छ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २४, २०७५     9:47:59 PM  |

प्रतिक्रया दिनुहोस्