22 September 2019  |   आइतवार, अशोज ५, २०७६

हुलाकी राजमार्गको निर्माण कार्य सुस्त

    | प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५  

काठमाडौंँ । कुल एकहजार ७९२ किलोमिटर लामो हुलाकी राजमार्ग निर्माण शुरु भएको करिब अढाइ वर्षमा १७३ किलोमिटर मात्र निर्माण सम्पन्न भएको छ । ठेकेदारको लापरवाहीले तोकिएको समयभन्दा सात वर्ष ढिलो निर्माण शुरु भएको सो राजमार्ग आर्थिक वर्ष २०७७÷७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 
राष्ट्रिय गौरवको आयोजनामा परे पनि बजेट अभाव, मुआब्जा वितरण र अन्तर मन्त्रालय समन्वय अभावले हुलाकी राजमार्ग निर्माणले तिब्रता पाउन नसकेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ । राजमार्ग अन्तर्गत नेपाल सरकारको स्रोतबाट प्रथम चरणमा काम गर्ने तय गरिएका १७ सडक खण्डमध्ये सात र दोस्रो चरणको १९ खण्ड गरी ६५३ किलोमिटर सडक स्तरोन्नतिको कार्य भइरहेको छ ।

यो राजमार्ग निर्माणका लागि चालू आव २०७५÷७६ मा पाँच अर्ब ५० करोड रुपिया विनियोजन गरिएको थियो । उक्त रकम खर्च भइसकेको निर्देशनालयका निर्देशक अशोक तिवारीले जानकारी दिनुभयो ।कुल खर्च ६५ अर्ब २० करोड संशोधित अनुमान रहेको यो राजमार्ग निर्माण तीन चरणमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भारतले पहिलो चरणको बाँकी कार्यको लागि आठ अर्ब रुपियाँ सहयोग अनुदान उपलब्ध गराइसकेको छ ।

चालू आव २०७५÷७६ को दोस्रो चौमासिकसम्म १७३ किलोमिटर सडक निर्माणको कार्य सम्पन्न भइसकेको छ । पूर्वपश्चिम हुलाकी राजमार्ग र उत्तरदक्षिण सहायक मार्ग गरी एक हजार ७९२ किलोमिटरको सडकखण्डमा २१९ वटा पुल निर्माण हुनेछन् ।२०६६ माघमा भारतले पहिलो चरणमा हुलाकी लोकमार्गको ५१८ किलोमिटर सडक निर्माण गर्ने सम्झौता गरेको थियो । तर सातवर्षसम्म सडक स्तरोन्नतिमा प्रगति नभई भारतीय ठेकेदार भागेपछि हुलाकी राजमार्ग निर्माण अन्योलमा परेको थियो ।

आर्थिक वर्ष २०७२÷७३ मा भारतले पहिलो चरणमा बाँकी रहेको १७ खण्ड मध्ये १० वटा खण्डको निर्माण सुपरीवेक्षण गर्ने गरी सडक विभाग र भारतीय परामर्शदाताबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यस बमोजिम भारतको अनुदान सहयोगमा प्रथम चरणको २९९ किलोमिटर सडक स्तरोन्नतिको मुआव्जा वितरण लगायतका काम भइरहेको छ ।

तराई मधेशको लाइफलाइन रहेको यो राजमार्गले पूर्वमा झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको चाँदनी दोधारालाई जोड्नेछन् । तराई मधेशको गाउँ देहातको बजारसँगै सहायकमार्गले पूर्व पश्चिम राजमार्ग जोड्ने हुँदा आर्थिक उन्नतिको लागि यो राजमार्गको निर्माण महत्वपूर्ण मानिन्छ ।-गोरखापत्र दैनिक

 

प्रकाशित मितिः बुधबार, फाल्गुन २९, २०७५     6:29:40 AM  |

प्रतिक्रया दिनुहोस्